रेसुङ्गा (गुल्मी), मङ्सिर १६ गते । गुल्मीको इस्मा गाउँपालिका अन्तर्गतको कोटकोटेरीका सुन्दरलाल विकको पसलसहित घर जलेको दुई वर्ष पुग्यो । घर पसलसहित भएका विकले आगलागीले गर्दा दाल, चामल मागेर खानुपर्ने मात्र बनाएन कि घरबारविहीन भएको अवस्थामा छिमेकीको ओत खोज्नेसम्म बनायो । सरकारले घर बनाउने भने पनि विकसहितका अग्निपीडितले गाउँपालिकासँग सम्झौता गरेर काम अगाडि बढाए तर आधा घर बन्दासम्म गाउँपालिकाबाहेक सङ्घीय र प्रदेश सकरारले ले किस्ता पनि पठाएनन् ।
घरको काम गर्न कामदार बिचमै काम छोडेर भागे । उहाँले गाउँमा डेढ लाख ऋण खोजेर घर छाउनुभयो । पैसा नभएका कारण आधा घर अलपत्र परेर बसेका पीडितका परिवार गाउँमा आफन्तको घरमा ओत लागेर बसेका छन् । उहाँले भन्नुभयो, “आगोले घर जल्दाभन्दा पनि पछिल्ला दिनमा मनमा पीडा बढी छ । सरकारले रकम दिन्छु भन्यो तर अहिलेसम्म पैसा दिएन, कामदारले पैसा मागेको माग्यै छन् ।”
इस्मा गाउँपालिका–४, कोटकोटरीका बलबहादुर दर्जीलाई २०८१ सालको बर्खाअघि नै घरमा बस्न पाउने आशा थियो । आहात बनेका बेला पीडित परिवारले नेता र कर्मचारीका ठुला आश्वासन सुने, सुनेर केही राहत पाउने कुरा पत्याए पनि तर दुई वर्ष पुग्न थाल्दा पनि घर निर्माणको काम पूरा हुन सकेको छैन भने छिमेकीको घरमा बास छ ।
उहाँले भन्नुभयो, “घर आधा बनेको छ, बास अर्कैकोमा छ । आधा घर बनाउँदा लागेको ऋण तिर्न सकेको छैन ।” २०८१ वैशाख ८ गते वनजङ्गलको आगो बस्ती पसेपछि इस्माका मात्रै ४९ घर गोठ जलेर नष्ट भएका थिए । अधिकांश अग्निपीडितले घरगोठ निर्माण गरेका छन् तर सबैलाई एउटै पिरलो छ घर बनाउँदा लागेको ऋण कसरी तिर्ने ? सरकारले दिने भनेको राहत कहिले पाउने होला र
गर्जाे टार्न सकिएला ?
अग्निपीडित परिवारले आवास निर्माणका लागि पाँच लाख रुपियाँ पाउने व्यवस्था छ । त्यसमध्ये इस्मा गाउँपालिकाले एक लाख र चार लाख प्रदेश तथा सङ्घीय सरकारले उपलब्ध गराउनुपर्ने हो । चार लाखमध्ये पहिलो किस्ता ५० हजार रुपियाँबाहेक अरू रकम पाउन नसकेको गुनासो पीडितको छ । इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले प्रदेश तथा सङ्घीय सरकारका कारणले आफूहरूलाई गाउँलेको अगाडि मुख देखाउन नसक्ने अवस्था रहेको बताउनुभयो ।
इस्मा गाउँपालिका–४ का सात घर निर्माणको जिम्मा केशव घर्तीले लिनुभएको थियो । उहाँले बैङ्क र सहकारीबाट ऋण खोजेर विपत्मा परेकाको घर निर्माण गरे पनि सरकारले पैसा नदिँदा आर्थिक तथा मानसिक रूपमा अत्यन्तै पीडा भएको गुनासो गर्नुभयो । इस्मा गाउँपालिका–१ र २ मा आगलागी र पहिरोबाट घरबार गुमाएका १० घर निर्माण गर्नुभएका डोलबहादुर सार्कीले करिब ५० लाख रुपियाँ पाउन नसकेको दुखेसो पोख्नुभयो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले आगलागी र मनसुनजन्य क्षतिका ३५९ जना पीडितलाई पहिलो किस्ता प्रदान गरेको बताउँदै दोस्रो किस्ताको प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले विपत् प्राधिकरणको पुरानो प्रणाली अवरुद्ध हुँदा किस्ता भुक्तानीमा केही ढिलाइ भएको जानकारी दिनुभयो ।