• २० माघ २०८२, मङ्गलबार

‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

blog

नेकपा (एमाले) का उपाध्यक्ष, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री र लमजुङका उम्मेदवार पृथ्वी सुब्बा गुरुङ पत्रकारसँगको संवाद कार्यक्रममा । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ २० गते । नेकपा (एमाले) का उपाध्यक्ष, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अहिले देशको राष्ट्रियता र स्वाभिमान सङ्कटमा रहेकाले त्यसलाई जोगाउन देशको लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपालद्वारा मङ्गलबार यहाँ आयोजित चौतारी संवाद कार्यक्रममा उहाँले त्यस्तो बताउनुहुँदै मुलुकको संविधान र लोकतन्त्र सङ्कटमा परेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले बाह्य शक्तिको चलखेल एकदम बढेको छ, मुलुकको स्वाभिमान, लोकतन्त्र र राष्ट्रियता सङ्कटमा छ, यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ ।”

आफूलाई नयाँ भन्ने दलहरूसँग समाज, देश बनाउने स्पष्ट दर्शन र नीति नरहेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनमा एमाले नै पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो । “काठमाडौँ प्रमुख रहँदा यहाँका सुकुम्वासी, भूमिहीनहरूलाई लखेट्ने मान्छेले झापा ५ पुगेपछि सुकुम्वासी समस्या अन्त्य गर्छु भन्नु जनतालाई भ्रम बाँड्नु हो” पूर्वमन्त्री गुरुङले भन्नुभयो । 

रास्वपाका नेता बालेन्द्र साहलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “भ्रम बाँड्न सजिलो छ, काम गर्न कठिन छ । काठमाडौँको मेयर हुँदा यहाँका सुकुम्वासी र भूमिहीनलाई व्यापार गरेर पनि खान नदिने व्यक्तिले झापा पुगेर लालपुर्जा दिन्छु भन्नु हास्यस्पद कुरा हो ।” सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्न एमालेसँग ठोस योजना रहेकाले त्यो समस्या एमालेले मात्र गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो ।


संवैधानिक रूपले एमाले नेतृत्वको सरकार ढाल्न नसक्ने देखेपछि जेनजी आवरणमा शक्ति केन्द्रहरू अवैधानिक ढङ्गले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेको उहाँले टिप्पणी गर्नुभयो । “शक्ति केन्द्रहरूले जेनजी नामक क्षेप्यास्त्र हानेर ओली नेतृत्वको सरकार ढालेका हुन्, चुनावमा पुनः त्यही क्षेप्यास्त्र हान्ने कसरत गर्दैछन्, जनताले त्यो कुरा बुझ्नुपर्छ” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमा नेकपा (एमाले) विरुद्ध अभियान चलेको बताउँदै उहाँले त्यसको प्रतिकार एमालेले गर्ने बताउनुभयो । “जनतामा भ्रम छर्ने काम सामाजिक सञ्जालमार्फत भइरहेको हामीलाई जानकारी छ, त्यसलाई चिर्न हामी एमालेको तर्फबाट अभियान चलाउँछौं” उहाँले भन्नुभयो । एमाले विरुद्धमा विरोधी शक्तिहरू जति लागे पनि त्यसलाई परास्त गर्न एमाले सक्षम रहेको उहाँको भनाइ छ । 


सरकारले भयरहित र स्वस्थ निर्वाचन गराउन भरपर्दो सुरक्षा व्यवस्था अझै बनाउन नसकेको भन्दै उहाँले चुस्त सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो । सुरक्षा व्यवस्था चुस्त नभए निर्वाचन स्वस्थ हुन नसक्ने उहाँको भनाइ छ ।  

लमजुङमा आफूले सुरु गरेको विकास निर्माणको योजना अझै पूरा हुन बाँकी रहेकाले आउने निर्वाचनमा आफू निर्वाचित हुन अनिवार्य रहेको उहाँले बताउनुभयो । निर्वाचित भएर अधुरा योजनाको काम पूरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । लमजुङमा आफूलाई जनताको साथ रहेको र आगामी दिनमा पनि रहने विश्वास नेता गुरुङले गर्नुभयो । सामाजिक सञ्जालमा छरिएको भ्रमप्रति सचेत हुन उहाँले मतदाताहरूसँग आग्रह गर्नुभयो ।