खलङ्गा समाचारदाता
दार्चुला, भदौ १० गते । दार्चुलाका दुई दल नेपाली कांग्रेस र नेपाल (एमाले)ले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेर कडा आपत्ति जनाएका छन् । नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि एमालेको भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो । कांग्रेसको भदौ ६ र ७ गते बसेको कार्यसमितिको बैठकले पनि ध्यानाकर्षण भएको जनाउँदै निर्णय गरेको छ ।
एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पु¥याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन, यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो ।”
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललितसिंह बोहोराले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको नक्साभित्र पर्ने भूगोल कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रस्थित लिपुलेक भन्ज्याङको बाटो भएर छिमेकी राष्ट्र चीन र भारतबिच नेपालको सहमति र संलग्नता बेगर व्यापारमार्ग सञ्चालनमा ल्याउने भएको द्विपक्षीय समझदारीप्रति नेपाली कांग्रेस दार्चुलाको गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै उक्त विज्ञप्तिमा नेपालको अखण्ड क्षेत्रमा दुवै छिमेकी राष्ट्रले नेपालको सार्वभौमसत्ताप्रति उपेक्षा गर्दै गरेको समझदारीमाथि नेपाली कांग्रेस दार्चुला कडा शब्दमा विरोध र विमति जाहेर गर्दछ, समस्या समाधानका सम्बन्धमा दुवै छिमेकी राष्ट्रसँग यथाशीघ्र प्रभावकारी कूटनीतिक पहलका निमित्त कांग्रेस सरकारसमक्ष अनुरोध गर्दछ भनिएको छ । एमालेले पनि सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न माग गरेको छ । यो घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमाले दार्चुलाले दिएको छ । नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभीमानको रक्षा गर्न एकजुट हुनसमेत एमालेले आह्वान गरेको छ ।