शालिग्राम नेपाल
चितवन, भदौ १० गते । नारायणी नदीमा आएको बाढीले भरतपुरको सिसईमा लगाएको ड्याम भत्काएपछि बस्तीतर्फ पस्न सक्ने जोखिम बढेको छ । बाढी रोक्नका लागि निर्माण गरिएको ड्याम भत्काउँदा भरतपुर महानगरपालिकाका वडा नम्बर २६, २७ र २८ का बस्ती उच्च जोखिममा परेका छन् ।
भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालले करिब दुई सय मिटर ड्याम भत्काएपछि दुई वटा वडाको पूरै बस्ती र २६ वडाको केही भाग उच्च जोखिममा रहेको
जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहीबार राति आएको बाढीले ड्याम भत्काएछ, बिहान भएपछि मात्र थाहा भयो । नदी गाउँ पस्ने अवस्थामा थियो । सशस्त्र, सेना, प्रहरी र स्थानीयको सहयोगमा तारजाली हालेर रोकथामसम्म गरेका छौँ तर जोखिम कायमै छ ।” जुनसुकै समयमा बहाब बढेमा गाउँ पस्न सक्ने अध्यक्ष खनालले बताउनुभयो । रोकथामका लागि पर्याप्त ढुङ्गाको अभाव भएकाले काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय राम भण्डारीले नदीले ड्याम कटान गरेपछि राति सुत्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कटान गरेको ठाउँमा आउँदा बाढी बढ्यो भने जुनसुकै समयमा गाउँ पसेर लैजान सक्ने भएकाले सुत्ने अवस्था नै रहेन ।” बलियो गरी बनाएको भनिएको ड्याम नै भत्काएपछि नदीको कुनै भर हुँदैन, उहाँले भन्नुभयो । यहाँबाट नदी पसेमा वडा नंं २७ र २८ को सबै बस्ती जोखिममा रहेको छ । बाढी बस्तीमा पसे सयौँ मानिसको जीवन जोखिममा पर्ने उहाँले बताउनुभयो ।
नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयका सूचना अधिकारी प्रकाश लम्सालले भन्नुभयो, “नदीले निरन्तर ड्याममा हानेपछि भत्किएको छ । अहिले भत्केको स्थानमा निर्माण पूरा भइसकेको थियो । यस क्षेत्र अन्तर्गत अन्य स्थानमा निर्माण व्रmम जारी रहेको छ । नदीको बहाबले भत्केकालाई रोक्ने प्रयास गरिराखेका छौँ ।” आवश्यक सामग्रीको अभावमा छिटो काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । चितवनतर्फ पर्याप्त सामग्री नपाएपछि नवलपरासीबाट ठुला ढुङ्गा ल्याउने व्रmम जारी छ । तारजाली हालेर काम गरिराखेको भन्दै सूचना अधिकारी इन्जिनियर लम्सालले भन्नुभयो, “पानीको बहाब कम भएपछि काम गर्न सजिलो हुने छ । तटबन्ध भत्काएपछि कमलो माटो भएको जमिन खोल्न सजिलो भएको देखिन्छ,” उहाँले भन्नुभयो ।
नारायणी नदीको कटान रोक्न विसं २०७९ बाट तटबन्ध निर्माण सुरु भएको थियो । चार अर्ब ७२ करोड रुपियाँको लगानीमा सुरु भएको तटबन्धको काम अन्तिम चरणमा रहेको छ । अहिले कटान भएको स्थानमा कङ्व्रिmटको ब्लक, जाली र सानाठुला ढुङ्गा हालेर ड्याम निर्माण गरिएको थियो । तीन मिटरदेखि ४.५ मिटरसम्म उचाइको तटबन्ध निर्माण भएको थियो । अहिले बाढीले बगाएको ठाउँ भर्न ज्यादै कठिन भएको वडाध्यक्ष खनालले बताउनुभयो । सुरक्षाकर्मीसँग मिलेर ग्याबिन भर्ने काम गरेका थियौँ । ठुला ढुङ्गा नपाउँदा काम हुनसकेको छैन । नारायणी तटबन्धको पाँच वटा प्याकेजमा रामघाट–काभ्रेघाट पाँच किमी, गाँजीपुर–हिरापुर पाँच किमी, सिसई–बेलुवा ५.७ किमी, बेलुवा–मेघौली–गोलाघाट ३.५, नारायणी पुलदेखि उत्तरतर्फ सात सय मिटर, सेतीदेवी सामुदायिक वनमा चार सय मिटर, मझुवा खण्डमा ४६० मिटर गरी २१ किमी तटबन्ध भएको छ । यसले गत वर्षको ठुलो बाढी धानेको थियो ।
भरतपुरको वडा १, ३, ४, १६, १७, १८, २६, २७ र २८ हुँदै नारायणी नदी बग्ने गर्छ । पुलचोकदेखि गोलाघाटसम्म ३५ किमी रहेको छ । तटबन्धको कार्य भरतपुरसँगै नवलपुरमा पनि भइरहेको छ । गत वर्ष असोजमा आएको बाढीले असर नपारेको स्थानमा अहिले आएको सानै बाढी र कटानले ड्याम भत्काएको छ । जोखिम कायम रहेकाले सतर्कता अपनाउन कार्यालयले जानकारी दिएको छ ।