चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), भदौ १० गते । सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट तथा रौतहटका विभिन्न बिओपी एवं बेस क्याम्पमा कार्यरत १७ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।
तस्करी गरी भित्र्याइएको सामान समात्नुको सट्टा तस्करलाई नै सुरक्षित ठाउँमा लैजान दिएको भन्दै सशस्त्र प्रहरी बल नेपालले रौतहटका दुई सशस्त्र प्रहरी नायब उपरीक्षक, तीन सशस्त्र प्रहरी निरीक्षकसहित १७ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको शिवनगरस्थित एक गोदाम घरमा ठुलो मात्रामा तस्करी गरी भित्र्याइएको चिनी, मल, सिमेन्ट, सर्फलगायतका सामान रहेको भिडियोको आधारमा छापा मारेर नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल हेड क्वाटरले आदेश दिँदासमेत सशस्त्र प्रहरी बल नेपाल ११ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेत तालिममा गएको मौका छोपी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामाले तस्करसँग मिलेमतो गरेर अधिकांश सामान अन्य सुरक्षित स्थानमा पठाउन लगाएको र थोरै परिमाणमा समातेर भन्सार बुझाएका कारण कारबाही गरिएको केन्द्रीय सहप्रवक्ता थापाले बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल ११ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार सन्तपुर बेस क्याम्पका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु गुरागाईंलगायत तीन जना सशस्त्र प्रहरी निरीक्षक र अन्य केहीलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीबाट आवश्यक कारबाही गरी फिर्ता पठाइसकिएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटका सशस्त्र प्रहरी नायब उपरीक्षक लामालाई हेड क्वाटरमा राखिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान जारी रहेकाले यसमा संलग्न जोसुकै हेड क्वाटरबाट तानिन सकिने उहाँको भनाइ रहेको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहटलाई समेत सचेत गराइएको उहाँले बताउनुभयो ।