• १० भदौ २०८२, मङ्गलबार

नेपाल–भियतनाम सम्बन्ध

blog

नेपाल र भियतनामबिचको सम्बन्ध प्रगाढ बन्दै छ । सम्बन्ध विस्तारका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा भियतनामका उपराष्ट्रपति भो थी आन सुआन तीनदिने नेपाल भ्रमणमा आउनुभयो । शनिबार नेपाल आउनुभएका उपराष्ट्रपति भोले उच्चस्तरीय भेटवार्ता गर्नुभयो । भेटवार्ताका क्रममा दुई देशबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको छ । उपराष्ट्रपति भोले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गर्नुभयो । उहाँले पाटन दरबार क्षेत्र र बौद्धनाथको अवलोकनसमेत गर्नुभयो । नेपाल र भियतनामबिच सन् १९७५ मे १५ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । यस पटक नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो । यस अवसरमा उपराष्ट्रपति भोले गर्नुभएको यो ऐतिहासिक भ्रमणको विशेष महत्व रहेको छ । दुई देशबिचको सम्बन्ध विस्तार गर्ने सिलसिलामा विविध विषयमा कुराकानी भएको छ । नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले सन् २०१९ मा भियतनामको भ्रमण गर्नुभएको थियो । भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । भोसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामबारे छलफल भएको छ । त्यसै गरी हवाईसेवा र लगानी, पर्यटन प्रवर्धन, आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने विषयमा पनि छलफल भएको छ ।

भियतनाम बौद्ध धर्मावलम्बी बहुल राष्ट्र हो । त्यसैले गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउने भियतनामी पर्यटकलाई सहज आवतजावतको व्यवस्था मिलाउने विषयमा छलफल भएको छ । पर्यटन प्रवर्धनका लागि नेपाल र भियतनामबिच सिधा हवाई उडान सुरु गर्ने विषयमा विमर्श भएको छ । अहिले दुई देशबिच सिधा उडान छैन । सिधा उडान भएमा दुवै देशको पर्यटन प्रवर्धनमा सहयोग पुग्छ भन्ने छलफलको निष्कर्ष हो । भियतनामको प्रतिनिधिमण्डलले व्यापार एवं लगानीसम्बन्धी सम्झौता चाँडै गर्नुपर्नेमा जोड दिएको छ । लगानी सुनिश्चित गर्ने, डिजिटल प्रविधिमा साझेदारी गर्ने तथा व्यापार तथा लगानीको विषय अघि बढाउने विषयमा छलफल भएको छ । उपराष्ट्रपति भोसँगको भेटमा परराष्ट्रमन्त्री राणाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सिधा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभयो । उहाँले नेपाल सन् २०२६ पछि अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गर्नुभयो । मन्त्री राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानव अधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि अनुरोध गर्नुभयो । जलवायु परिवर्तन जस्ता विश्वव्यापी एजेन्डामा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा दुवै देशबिच सहमति भएको छ । 

भियतनाम आर्थिक रूपमा उदाउँदो राष्ट्र हो । भियतनामले व्यापारसँगै विकासको गति लिइसकेको छ । भियतनामको विकास, उन्नति, प्रगतिका अनुभवबारे भ्रमणका क्रममा छलफल भएको छ । जनता जनताबिचको सम्बन्ध विकास गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा साझेदारी गर्ने तथा दुवै मुलुकबिचको मित्रवत् सम्बन्ध र सार्वभौमिक पक्षको सम्मानमा आधारित रही अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा साथ अगाडि बढ्ने विषयमा पनि संवाद भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका रूपमा नेपाल र भियतनामबिच शान्ति स्थापना र विकासमा सहकार्य गर्ने सन्दर्भमा पनि परामर्श भएको छ । दुई देशबिचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने सन्दर्भमा विमर्श भएको छ । भियतनामले पछिल्लो छोटो अवधिमा आर्थिक उन्नति र प्रगति गरेको छ । उसले पर्यटन उद्योगलाई दिएको प्राथमिकताले नै आज पर्यटनको एक नयाँ गन्तव्य बनेको छ । एसियाको पूर्वी किनार र हिन्द–चीन प्रायद्वीपको पूर्वतर्फ अवस्थित भियतनामको क्षेत्रफल तीन लाख ३० हजार ९५१ वर्ग किमी छ । अहिले थाइल्यान्डपछि विश्वमा धान निर्यात गर्ने दोस्रो ठुलो देश भियतनाम हो । धानबाहेक रबर, कफी, चिया, काजु, खुर्सानीको खेतीमा पनि भियतनाम अग्रणी देश मानिन्छ । त्यहाँ बहुमूल्य प्रस्तर, तामा, सुन, कोइला, ग्यास र खनिज तेल पनि प्रशस्त रहेको छ । लामो समय फ्रान्सको उपनिवेश बनेको भियतनामले बाह्य कारणले विभाजन र भीषण युद्धको पीडासमेत भोगेको छ ।