• ७ भदौ २०८२, शनिबार

नयाँ अलैँचीको मूल्यले किसान उत्साहित

blog

किसानको बगानमा टिप्ने बेला भएको अलैँची । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ६ गते ।
ताप्लेजुङमा नयाँ अलैँचीको मूल्यले किसान उत्साहित भएका छन् । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेको र नयाँ अलैँचीले आकर्षक मूल्य पाएपछि किसान उत्साहित भएका हुन् ।

भदौयता बजारमा आउन थालेको नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ८८ हजार रुपियाँमा कारोबार हुन थालेको छ । गत वर्षभन्दा यसवर्ष सुरुमै प्रतिमन छ हजार रुपियाँ बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेपछि स्थानीय किसान तथा व्यवसायी उत्साहित भएका हुन् । अलैँचीको नयाँ उत्पादनले सुरुमै मनको ८८ हजार रुपियाँमा कारोबार हुनु आकर्षक मूल्य भएको अलैँची व्यवसायी सङ्घले जनाएको छ ।

गत वर्ष नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन ८२ हजार रुपियाँमा कारोबार भएको थियो । यसवर्ष भने नयाँ अलैँची बजारमा आउन थालेसँगै प्रतिमन ८८ हजार रुपियाँमा कारोबार हुन थालेको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीसमेत रहनुभएका सङ्घका अध्यक्ष रेग्मीले नयाँ अलैँचीले पाएको मूल्यप्रति स्थानीय व्यवसायी तथा किसान उत्साहित भएका बताउनुभयो ।

नयाँ अलैँचीले आकर्षक मूल्य पाउँदा मुख्य सिजन (मौसम) मा राम्रो मूल्य आउन सक्नेभन्दै किसान तथा व्यवसायी उत्साहित भएका हुन् । गतवर्ष पनि प्रतिमन ८२ हजार रुपियाँले कारोबार भएको चालू अलैँचीको मूल्य मुख्य सिजनमा प्रतिमन एक लाख १० हजार रुपियाँ पुगेको थियो । ठुलो दाना भएको अर्थात गुणस्तरीय अलैँची गतवर्ष प्रतिमन एक लाख १४ हजार रुपियाँ सम्ममा कारोबार भएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

अलैँचीको नयाँ उत्पादनले आकर्षक मूल्य पाएपछि यसवर्ष पनि मुख्य सिजनमा अलैँची राम्रै मूल्यमा कारोबार हुनसक्ने अपेक्षा स्थानीय किसान तथा व्यवसायीले गरेका छन् । अहिले जिल्लाको तल्लो भेग अर्थात औल क्षेत्रमा उत्पादन हुने अलैँची बजारमा निस्किन थालेको हो । अलैँचीको मुख्य सिजन भने असोज र कात्तिक महिना भएकाले सो समयमा अलैँचीको अझ धेरै आकर्षक मूल्य आउनेमा किसान आशावादी रहेका छन् ।

यता यसवर्ष उत्पादन भने घट्ने किसानको भनाइ छ । हिजोआज औल क्षेत्रको अलैँची निस्किन थालेको र गतवर्षको तुलनामा यो वर्ष औल क्षेत्रमा झण्डै आधाले उत्पादन घटेको स्थानीय किसानले बताएका छन् । नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट गतवर्ष दुई हजार ५३१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । अलैँची ताप्लेजुङको प्रमुख नगदे बाली भएकाले अधिकांश किसान यसको खेतीमा संलग्न रहेका छन् ।