ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ७ गते । बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्तुत गरे । असारे गीतको भाका र संगीतले दिभर बजार गुञ्जायमान भएको थियो ।
असारे भाकाको गीत गाउँदै विभिन्न भेषमा सजिएका दुई सयभन्दा बढी कलाकारहरुले बजारमा रोपाइँ नाच प्रदर्शन गर्दा रौनकता छाएको थियो । नाच अवलोकन गर्न बजारवासीको भिड लागेको थियो ।
धान रोप्ने, हलो जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका अभिनय प्रस्तुत गरेका थिए । सानासाना बालबालिकाहरु पनि जातिय भेषभूषामा सजिएर रोपाहर र बाउसेको अभिनय गरेका थिए । असारे भाकाको गीत र संगीतमा कलाकारहरु छमछमी नाचेका थिए ।
गाउँका विशिष्ट व्यक्तिको खेतमा हुने रोपाइँको झल्को रोपाइँ नाचमा प्रस्तुत गरिएको थियो । पुरुषहरु महिलाको पोसाक लगाएर नाचेका थिए ।
नाचमा नेवार समुदायका साथै अन्य जातिजातिका युवा–युवतीहरुको सहभागिताले नाचलाई समावेशी बनाएका थियो । नेवार समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको रोपाइँ नाचको संरक्षण र पुस्तान्तरणका लागि नाचलाई निरन्तरता दिइएको नेपाल भाष मंकाः खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘परम्परागत रुपमा बेनीमा देखाइने बर्खे नाच अन्तर्गत रोपाइँ नाच मौलिक संस्कृतिका रुपमा रहेको छ । रोपाइँ नाचमा धेरै कलाकारहरुको आवश्यकता पर्दछ । पछिल्ला केही वर्ष यता संस्कृति संरक्षणमा युवापुस्ताको साथ र सहयोगले बर्खेनाचलाई निरन्तरता दिन सकेका छौं ।’’
रोपाइँ नाच नेवार समुदायको मौलिक संस्कृति भएकाले यसको संरक्षण र प्रवर्धनका लागि युवाहरुलाई प्रशिक्षण र तालिम दिएर संस्कृतिको पुस्तान्तरण गर्ने प्रयास गरेको मंकाःखल : अन्तर्गतको युवारुको समूह ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो ।
लोप हुन लागेको नेवारी समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको बर्खेनाचलाई युवाहरुको सक्रियतामा जिवन्त राख्ने कोशिस गरिएको उहाँको भनाइ छ । बजारमा रोपाइँ नाच प्रदर्शन भएपछि बजारवासीहरुले निकै चासो दिएर अवलोकन गरेका थिए । बेनीमा नेवार समुदायले एक महिनासम्म बर्खे नाचअन्तर्गत विभिन्न नाचहरु प्रदर्शन गर्ने प्रचलन छ । हरितालिका तीजका दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खे नाच समापन गरिने नेपाल भाषाः मंका खलका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।