• ७ भदौ २०८२, शनिबार

फूल, मयूर र जीवनको गीत (निबन्ध)

blog

एक दिन उल्लसित तन, उमङ्गित मन र आल्हादित भावनाले भरिएर जीवनको गीत गाउन हिँडेको मात्र के थिएँ, कोही कसैले मलाई नै भने जस्तो गरी फ्याट्ट भनेको सुनेँ, “भाग्यमानीको भुतै कमारो ।” यो कुरा फगत एक अपवाद हो, एक आंशिक सत्य मात्र । किनभने जोकोही जतिसुकै भाग्यमानी भए पनि डोकोमा दुध दुहेर अडिँदैन, कहिल्यै केही मिल्दैन, केही पाइँदैन, तालुमा आलु पनि फल्दैन । भाग्यलाई कमारो बनाउन त हातखुट्टा पनि त्यत्तिकै चल्नु/चलाउनु पर्दछ । आखिर भाग्य छ भन्दैमा थालमा पस्केको भोजन मुखसम्म लगिएन त के हुन्छ ? उही भोकै त बस्नुपर्ने हुन्छ नि ! आखिर भाग्य छ भन्दैमा खल्तीभित्र हात राखेर कोही सफलताको खुड्किला उक्लिन खोजेमा त के हुन्छ ? उही के त शिखर पुग्न नपाउँदै बिचतिर कतै अलमलिन्छ नि ! 

भाग्य नै छ भने पनि आखिर सफलता भनेको संयोग होइन बरु यो त कडा परिश्रम, समर्पित प्रतिबद्धता, निरन्तर सिकाइ, अध्ययन, त्याग र सबैभन्दा धेरै त आफूले गरिरहेको कामप्रतिको अथाह मोहको मिश्रित नतिजा पो हो । आखिर यस्तो सफलताको साँचो कुनै अतिरिक्त शक्ति होइन बरु व्यक्ति स्वयम्भित्र रहने वा हुनुपर्ने आँटेको सम्बन्धित काम गरिछाड्ने जाँगरिलो इच्छा, कर्मशीलता र आत्मअनुशासन हो ।

म विश्वस्त छु– यसका लागि मैले आशङ्काको भुरुङ घुम्नु पर्दैन । मलाई आफूमाथि विश्वास छ । त्यसकारण अरूले मेरोबारेमा के के सोच्दछन्, ममाथि विश्वास गर्छन्/गर्दैनन्, त्यो सब मेरो सरोकारको विषय होइन । स्वाभाविक तवरले मेराबारेमा कोही राम्रो सोच्दा हुनन्, कोही नराम्रो । अझ धेरै जना त मप्रति निस्पृह रहँदा हुनन् किनभने उनीहरूलाई मेराबारेमा थाहा जो हुँदैन । उसै पनि संसारको रीत जो छ– कसैका बारेमा केही पनि सोच्न हरकोही स्वतन्त्र छ, उसलाई ‘मेरो विषयमा यस्तो वा उस्तो सोच्नु पर्छ’ भनेर भन्न सकिँदैन । आग्रहसम्म पनि गर्न सकिँदैन, मिल्दैन, हुँदैन । 

मैले विचार गरेको छु– जब कुनै फूल फुल्छ, त्यसले आफू वरपर रहेका अरू कुनै फूलसित प्रतिस्पर्धा गर्दैन । अर्को कुनै पनि फूलभन्दा आफू बढी राम्रो र सुन्दर हुनु पर्छ भनेर सोच्दैन । यो वा त्योभन्दा धेरै राम्रोसँग फव्रिmन्छु भनेर गमर्किन्न । ऊ त बस् केवल फुलिदिन्छ । फुल्नमै उसलाई गर्व महसुस हुन्छ । कोइलीले गीत गाउँछ तर अन्य कसैलाई खुसी पार्न होइन किनभने गाउनका लागि ऊसँग गीत छ, त्यसकारण । 

मयूरले अरू कसैलाई देखाउन वा खुसी पार्न होइन, आफैँलाई प्रसन्न राख्न र आफैँलाई आनन्दित तुल्याउन आफ्ना प्वाँख फिँजाउँछ । अरू कसैले आफूलाई हेरे/हेरेनन् भनेर उसलाई कुनै चिन्ता र चासो हुँँदैन । फ्रेन्च दार्शनिक अल्बेयर कामुले भनेका छन्, “जीवनमा सधैँ सधैँ ‘हुन्छचन्द्र’ बन्नु हुँदैन बरु ‘हुन्न’, ‘हुँदैन’ भन्न जान्नु पर्दछ, जानिएको छैन भने सिक्नु पर्दछ र ‘हुन्नबहादुर’ पनि हुन जान्नु पर्दछ । जीवन व्यर्थ छ, अर्थहीन छ तर त्यो तिमी नै हौ, जसले आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सक्छौ, त्यसलाई अर्थ दिन सक्छौ र अर्थ दिनु पनि पर्दछ ।”

कामुले भनेको कुरा सोचिबस्दा मलाई कोही पनि मानिस पूर्ण छ वा हुन्छ जस्तो नै लाग्दैन– न म न तपाईं न त अरू नै कोही । त्यसकारण शान्तपूर्वक र सुबिस्तासाथ बाँच्ने हो भने आफू जे जस्तो भए पनि आफूले आफैँलाई त्यही रूपमा स्वीकार गर्नु पर्दछ । अरूलाई समेत तिनीहरू जे जस्ता छन्, उनीहरूलाई पनि त्यही रूप र त्यही स्वरूपमा स्वीकार गर्नु पर्दछ । यसो भन्नुको पनि एउटा कारण छ । त्यो के भने मेरो एउटा सपाट बुझाइ छ– जीवित मान्छेले त्यति फूल पाउँदैनन् जति मरेका मान्छेले पाउँछन्, जीवित मानिसलाई त्यति फूल दिइँदैन, जति मृत मानिसलाई दिइन्छ, जीवित मनुष्यलाई त्यति पुष्प बर्साइँदैन, जति मरेका मनुष्यका लागि पुष्प चढाइन्छ ।

त्यसो हुँदा मैले कसैका बारेमा केही सोच्न नपरेपछि आफूले के गरिरहेको छु भनेर अरूलाई भनिरहनु पनि पर्दैन । त्यसरी भन्नु भनेको केवल समयको बर्बादी मात्र हो । आफ्नो सोचाइ वा योजनाका कुरा अरूलाई सुनाउँदा आफूलाई केही प्राप्त हुँदैन भने त्यसो गर्नुको औचित्य पनि के र ? बरु त्यो मूल्यवान् समय आफ्नो व्यक्तित्व विकासको कुनै पनि कार्य गतिविधिमा लगाउन सके नै बेस हुन्छ होला नि ! 

किनभने सोचविचारभन्दा कार्यव्यवहार जो बढी श्रेयस्कर हुन्छ, धेरै फलदायी जो हुन्छ । बरु मैले त त्यो सबै गर्नु पर्छ, जे म गर्न सक्छु । जे जति मसँग छ, मैले त्यो सबै चलाउनु पर्छ, प्रयोग गर्नु पर्छ । आफू जहाँ छु, त्यहीँबाट मैले नयाँ सुरुवात गरिहाल्नु पर्छ । त्यसो भयो भने चाहिँ मुख बोल्दैन, बरु मेरो काम बोल्छ अनि त्यति भए त पुगिजान्छ ।  अनि मेरो काम बोल्न थालेपछि मैले मुस्कुराउन पाउनु पर्छ । हाँस्न पाउनु पर्छ । मौका मिले अट्टहास छोड्न पाउनु पर्छ किनभने अरू कसैको मात्र किन, दुनियाँभरका समस्याको पोको मैले बोकिरहनु पर्दैन । खुसी त मैले आफैँलाई तुल्याउने हो बरु त्यस्तो खुसी वा प्रसन्नता कहाँबाट, केबाट र कसरी प्राप्त हुन सक्छ भनेर खोज्ने पनि म आफैँले हो । जान्नेहरूले भनेकै छन्, “जीवनको खुसी धेरैभन्दा धेरै मूल्यवान् कुरा पाउनु, थुपारेर राख्नु अथवा जम्मा पार्नुमा छैन बरु ती कुरा जुन वर्तमान समयमा आफूसित छन् तिनको आनन्द लिनुमा पो छ ।” 

त्यसो त मलाई सधैँ लागिरहन्छ– विचार गर्नु पर्छ, सोच्नु पर्छ र सपना पनि हेर्नु पर्छ किनभने जिन्दगी भनेको एउटा खेल न हो जहाँ कहिले जितिन्छ त कहिले हारिन्छ, कहिले जय मिल्छ त कहिले पराजय । अनि त्यस्तोमा केही विचार गरिएन, केही सोचिएन र केही सपना पनि हेरिएन भने जीवनमा के नै पो गरिन्छ र ? केही पनि गरिँदैन । गर्न पनि सकिँदैन । 

साथै विचार, सोचाइ, सपना भएर मात्र पुग्दैन, त्यस अनुसारको आफ्नो व्यवहार पनि चाहिन्छ किनभने विचारेर, सोचेर अनि सपना हेरेर त्यसमा सुन्दर कल्पनाको जलप लगाउने प्रयास पनि गर्नु पर्छ । त्यसो हुन र गर्न सक्ने हो भने बल्ल सुनमा सुगन्ध थपिन्छ । कुनै नयाँ काम गर्न लाग्दा वा केही कामको योजना बनाउँदा आफू असफल हुन्छु भनेर म जति बढी डराउँछु, मेरो असफल हुने सम्भावना त्यति नै बढी हुन्छ । 

त्यसकारण आवश्यकता एउटा मात्र हो– आफू एक्लो भए पनि, निराश भए पनि, थकित तथा क्लान्त भए पनि, आजित भए पनि, अथवा सफल नहुने भय उत्पन्न भए पनि जुन कुनै अवस्थामा समेत आफ्नो धुन छाड्नु हुँदैन, कर्तव्यपथबाट हट्नु हुँदैन, निर्दिष्ट कार्य फत्ते गर्नका लागि निरन्तर लागिरहनु पर्छ । म के छु र छैन अथवा म के हुन चाहन्छु र चाहँदिनँ भनेर अगाडि बढ्न मैले कसैको अनुमति लिनु पर्दैन । मेरो जीवनको निर्णय गर्ने म आफैँले हो, अन्य कसैले होइन ।

अनि हठात् कतै पढेको सम्झना भएर आउँछ, मृत्यु हाम्रो जीवनको सबैभन्दा ठुलो क्षति होइन । खासमा हामी जीवित छँदै हामीभित्रको बाँच्ने इच्छा र कर्म गर्ने जाँगर मर्छ भने त्यो चाहिँ जीवनको सबैभन्दा ठुलो क्षति हो । त्यसकारण स्थिति जे जस्तो भए पनि आफ्नो विवेकमाथि भावनालाई हाबी हुन दिनु हुँदैन । मस्तिष्कभन्दा मुटुलाई निर्णायक ठाउँमा आउन दिनु हुँदैन । 

एउटा जापानी दर्शन छ, जसलाई उनीहरू ‘सिकितोगोई’ भन्छन् । यो दर्शनले बेहतर जीवनका लागि मानवीय आचरणका सम्बन्धमा चार वटा गुण अत्यन्त महìवपूर्ण मान्दछ । यस दर्शनका अनुसार असल जीवनका लागि यी चार गुण वा ‘भच्र्युज’ आवश्यक छन्– बुद्धि, साहस, प्रेम र समर्पित लगाव । यी जीवन गुणहरू आपसमा सम्बन्धित र अन्तरसम्बन्धित छन्, एकअर्काको अभावमा यिनको अस्तित्व कायम रहन सक्दैन । आफूभित्र यी गुण विकास गर्न सकेमा मानिसले करुणा, उत्कृष्टता र सत्यनिष्ठा, इमानदारी अनि न्यायप्रियताले भरिपूर्ण जीवन बिताउन सक्दछ । यी गुण वा स्वभावले मानिसभित्र लुकेर बसेका व्यक्तिगत क्षमतालाई फल्ने, फुल्ने र झाँगिने अवसर प्रदान गर्दछन् । 

यी गुण र विशेषताबारे विचार गर्नुभन्दापहिले हामी आफूले आफैँलाई सोध्नुपर्ने हुन्छ– म के हुँ र म के होइन ? म को हुँ र म को होइन ? मैले के गर्न सक्छु र मैले के गर्न सक्दिनँ ? म के हुन सक्छु र म के हुन सक्दिनँ ? बस् यति बुझ्न सक्ने हो भने त्यो नै पर्याप्त हुन्छ । म जे छु, आफैँमा छु, आफ्ना लागि नै छु । अरू कसैका लागि भनेर म किन फेरिनु पर्छ ? किन उसका लागि भनेर मैले आफूलाई बदल्नु पर्छ ? के अरू कोही मेरा लागि र मेरो भलोका लागि बदलिएको छ ? कोहीकसैले मेरा लागि आफूलाई फेरेको छ ? अनि उसो भए किन मैले आफूलाई परिवर्तन गर्नुपर्ने ? 

जीवनमा जसरी सफल भइन्छ, त्यसै गरी असफल पनि भइन्छ । कोही सधैँभर सफल भइरहँदैन, कोही सधैँभर असफल मात्र हुँदैन । यी दुई कुरा भनेका मानव जीवनका लागि घामछाया जस्तै हुन्, जिन्दगीका उकालीओराली जस्तै हुन् र जिन्दगानीका दुई अविभाज्य पाटा हुन् । त्यही भएर नै त व्यक्तिविशेषका आधारमा हेर्दा सफलता र असफलतामा कहिले कुन पक्ष सबल हुन्छ त कहिले कुन तथापि कसैले पनि यसलाई प्राप्तिको तराजुमा जोख्ने गर्दैन, यति प्रतिशत सफलता र यति प्रतिशत असफलता प्राप्त भयो वा हुन सक्यो भनेर नापजोख गर्दैन । 

यसरी सफलता र असफलताबारे सोच्दा मलाई आफ्ना गाउँले नारान काकाको सम्झना आउने गर्छ । उनै नारान काकाले एक पटक एउटा कथा सुनाएथे, “कतै हिँड्दै गर्दा एक पटक मैले एक जना बुढो मान्छे देखेँ । उसले लगाएको सर्टमा केही लेखेको थियो । पढी हेरेँ । त्यहाँ लेखिएको थियो, म ८० वर्ष पुगेको बुढो मानिस होइन बरु म त भर्खर १६ वर्ष पुगेको लक्का जवान हुँ र मसँग ६४ वर्ष लामो अनुभव छ । अनि त्यो पढेर त म छक्कै परेँ । अझ बढी त त्यो बुढो मान्छेको सोचाइ र जीवन दृष्टिकोण बुझेर पो म अक्क न बक्क भएँ ।”

त्यही बुढो मान्छेको जीवन दृष्टिकोणले हामीलाई सिकाउँछ– सफलता हासिल हुने गरी हिँड्नका लागि कुनै बनिबनाउ बाटो छैन, हुँदैन । बरु सफलताको बाटो त सधैँ निर्माणाधीन हुन्छ, त्यो त आफैँ बनाउँदै अगाडि बढ्नु पर्छ । आशा, आत्मविश्वास र समर्पणले यस्तो बाटो बनाउन बलियो साथ दिन्छन् । अनि त समयले पनि हामीलाई सिकाउँछ, एउटा दिन नराम्रो भयो या बिग्रियो भन्दैमा सिङ्गो जीवन नै नराम्रो भयो या बिग्रियो भन्न मिल्दैन र हुँदैन पनि ।