गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ७ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा आयातनिर्यात दुवै बढेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले बढेको हो । साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६६ लाख ६९ हजार रुपियाँको आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्र्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको आयात भएको थियो । निर्यात भने झन्डै दोब्बरले बढेर २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार पुगेको छ । गत वर्ष सो अवधिमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको निर्यात भएको थियो । साउनमा समग्र वैदेशिक व्यापार १८.७५ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपियाँ पुगेको छ ।
निर्यातमा उल्लेख्य सुधार भए पनि आयातको आकार ठुलो भएकाले व्यापार घाटा भने बढेको छ । २०८१ साउनमा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँ रहेको व्यापार घाटा रहेकोमा २०८२ साउनमा २.५५ प्रतिशतले बढेर एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपियाँ पुगेको छ ।