नवराज कट्टेल
विराटनगर, भदौ ७ गते । नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ ।
नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले बुधबार निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ । भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो ।
यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडमा विषयमा यस्तै सूचना पाएको भन्दै भारतीय अधिकारीले अनुगमन गरेका थिए । तत्पश्चात् भारतले नेपालका प्लाई उद्योगलाई बिआइएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) मान्यता लिन अनिवार्य गरेको थियो । नेपालका केही उद्योगले बिआइएस लिएर उत्पादन निकासी गरिरहेका थिए ।
साउनको दोस्रो साता नेपालका केही उद्योगले मेड इन इन्डिया लेखेर प्लाई निर्यात गरेको आशङ्का गर्दै पानीट्याङ्की र जोगबनी नाकामा मालवस्तु बोकेका ट्रक रोकिएका थिए ।
रोकिएमध्ये आठ वटा ट्रकलाई भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई) ले बुधबार जफत गरेको छ । जफत गरिएका ट्रकमा मेड इन इन्डिया लेखिएका र बिआइएस नपाएका उद्योगका उत्पादन भेटिएको जनाइएको छ ।
विराटनगरका उद्योगीले भने नेपालमा प्लाई उद्योगको उत्पादन र निकासी बढेपछि भारतमा गलत हल्ला फैलाइएको बताउँदै आएका छन् । यस्तै अफवाह अहिले तेल उद्योगबारे फैलाइएको हुन सक्ने आशङ्का नेपाली उद्योगीको छ ।
२०७७ सालमा पाम आयल निर्यातको ग्राफ बढ्दै जाँदा भारतले नेपालबाट आयात गर्ने भारतीय उद्योगीको लाइसेन्स नै निलम्बन गरेको थियो । जसका कारण करिब डेढ वर्ष पाम आयल निर्यात अवरुद्ध भएको थियो । “भारतमा गलत हल्ला फैलाइएको रहेछ,” उद्योग सङ्गठन मोरङका उपाध्यक्ष एवं क्वालिटी रिफाइनरी उद्योगका सञ्चालक विपिन काबराले भन्नुभयो, “अनुमति नलिई भारतका उद्योगको ब्रान्डमा तेल प्रशोधन गरेको आशङ्कामा टोलीले विराटनगरका चार वटा उद्योगको निरीक्षण गरेको हो,” काबराका अनुसार ती उद्योगले भारतमा सोयाबिन तथा सनफ्लावर तेल निर्यात गर्दै आएका छन् । उद्योगी काबराका अनुसार उनीहरूको सर्टिफिकेट अफ ओरिजिन र साफ्टाको मापदण्ड अनुसार तेल उत्पादन भए नभएको विषयमा विशेष ध्यान दिएका थिए ।
बाबा ओयल इन्डस्ट्रिजका सञ्चालक तथा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष प्रकाश मुन्दडाले भारतको टोलीले स्थलगत निरीक्षणपछि सन्तुष्ट व्यक्त गरेको बताउनुभयो । यहाँका उद्योगबाट निर्यात भइरहेको तेल भारतमा खपत बढिरहेको बेला उनीहरूले चासो राख्नु सामान्य रहेको मुन्दडाको भनाइ छ ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष तथा बागमती आयल इन्डस्ट्रिजका सञ्चालक नन्दकिशोर राठीले भने यसलाई शुभ सङ्केत नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा फैलाइएको अनावश्यक हल्लाले नेपालका प्लाई उद्योगलाई जस्तै तेल उद्योगमा समेत यही प्रकरण फर्किन सक्ने खतरा छ ।”
टोली प्रत्येक उद्योगको ल्याब, प्रसोसेसिङ, उद्योगपरिसरको उनीहरूले अवलोकन गरेका थिए । नमुना सङ्कलन भने नगरी फर्केको बताइएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब छ अर्ब ७९ करोड १२ लाख ३९ हजार रुपियाँको सोयाबिन तेल निर्यात भएको छ । जबकी आव २०८०/८१ म ९० करोड २५ लाख एक हजार रुपियाँको मात्रै निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवको सोयाबिन निर्यात एक खर्ब पाँच अर्बले बढी थियो ।
यसै गरी आव २०८१/८२ मा १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजारको सूर्यमुखी तेल निर्यात भएको छ । जबकी अघिल्लो आव २०८०/८१ मा १६ करोड ३५ लाख ७५ हजार रुपियाँको मात्रै निर्यात रहेको थियो । निर्यातमा उल्लेख्य वृद्धि भएपछि भारतमा भने विभिन्न हल्ला बढ्नुले नेपालका उद्योगीलाई चिन्ता बढाएको छ । यसअगाडि पाम आयल निर्यातको ग्राफ बढ्दै जाँदा भारतले भन्सारदरलगायत वृद्धि गरेर झन्झट थपिदिएको थियो । नेपालबाट आव २०८१/८२ मा नेपालका ३० उद्योगमार्पmत सात अर्ब १० करोड रुपियाँको प्लाइउड निर्यात भएको थियो । गत जेठदेखि भारतले बिआइएस अनिवार्य गरेपछि अहिले आठ वटा उद्योगको उत्पादन मात्रै निर्यात हुन्छ । त्यसमा पनि मेची भन्सार नाकाबाट हुने निकासी तीन सातायता रोकिएको छ ।