• २२ असार २०८१, शनिबार

‘निसाना’मा भ्रष्टाचार

blog

केशवराज खनाल

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’, ‘आजको आवश्यकता, भ्रष्टाचारमुक्त समाज व्यवस्था’ आदि नारा सुन्दै आएका छौँ तर यत्रतत्र सर्वत्र भ्रष्टाचारको जरो यसरी गाडिएको छ कि ‘भ्रष्टाचार’ गर्नु, गर्न दिनु हाम्रो दायित्व नै हो कि भनेझैँ भएको छ । 

यसैको प्रतिक्रियास्वरूप कार्टुनिस्ट क्लब अफ नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी कार्टुन कला प्रदर्शनी आयोजना गरिरहेको छ । भ्रष्टाचारविरुद्ध केन्द्रित भएकाले प्रदर्शनीको नाम ‘निसाना’ राखिएको छ । गत वैशाख ४ गते राजधानीबाट सुरु भएको प्रदर्शनीको दोस्रो संस्करण गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भयो । गत जेठ २८ देखि ३० गतेसम्म पोखराको पोखरा आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीले मोफसलमा कलाको गतिविधिलाई त बढाएको छ नै, भ्रष्टाचारजस्तो विषयलाई जनजनमा पु-याउन सफल भएको छ ।

भ्रष्टाचारविरुद्धको यो प्रदर्शनीमा ३६ जना कार्टुनिस्टका ५० थान कार्टुन राखिएका छन् । नेपालका मुर्धन्य, स्थापित र नवआगन्तुक कार्टुनिस्टका समेत सिर्जना प्रदर्शनीमा अटाएका छन् । प्रदर्शनीमा दुर्गा बराल ‘वात्सायन’, गेहेन्द्रमान अमात्यका साथै मोहनश्याम महर्जन खोकना, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रवीन्द्र मानन्धर, योगेशकुमार खपाङ्गी, केशवराज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डङ्गोल, अकृन अधिकारी, विरोचन मल्ल, आशीष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाललगायत कार्टुनिस्टका कार्टुन समावेश थिए ।

प्रदर्शनीमा कार्टुनिस्ट अविन श्रेष्ठको कार्टुनले भ्रष्टाचार नियन्त्रणको प्रयासलाई नै व्यङ्ग्य गरिरहेको छ । भ्रष्टाचार नियन्त्रणको डम्बललाई आफ्नै खुट्टाले थिचेर उठाउने निरर्थक प्रयासलाई श्रेष्ठले देखाउनुभएको छ । यसैगरी नवनिर्मित पुलको उद्घाटनमा रिवन नकाट्दै पुल भत्किएको विषयलाई अनुप गुरुङले व्यङ्ग्य गर्नुभएको छ । अनुदानको रकम सम्बन्धित जनसम्म पुग्न नदिई सुँगुरले चरेझैँ चर्ने प्रवृत्तिलाई अग्रज कार्टुनिस्ट अशोकमान सिंहको कार्टुनले दर्शाएको छ । शिक्षामा भएको व्यापारीकरण र सरकारी विभिन्न अनुदान कार्यक्रमको अवस्थालाई कृष्णगोपाल श्रेष्ठ र सुदर्शन सिग्देलका कार्टुनले गिज्याइरहेका छन् ।


चप्पल पड्काउँदै राजनीतिमा छिरेकाहरू अकुत सम्पत्तिको मालिक बनेको विषयलाई रविन सायमीले समात्नुभएको छ भने शहीदका सपनालाई बिर्सिएर माला र खादामा रमाउने नेतालाई राजेश केसीले व्यङ्ग्य गर्नुभएको छ । गरगहनाले सजिएर सुकिला मुकिलाले गरिबलाई कस्तो देखिएको छ भनी सोधेको र राम्रो तथा भ्रष्टाचारीजस्तो नदेखिएको भन्दैछन् खोकनाको कार्टुनमा एक गरिबले । न्यायकी देवीको आँखामा पैसाको पट्टी लगाएर न्याय बिकाउ भएकोप्रति भानु भट्टराईको कार्टुन कलाले व्यङ्ग्य गरिरहेको छ । अनुदानको रकम आफ्नै भुँडी भर्ने प्रवृत्तिलाई बासु क्ष्तििजले निसाना बनाउनुभएको छ । भ्रष्टाचारको अजङ्गको स्वरूप र प्रहरी प्रशासनको अवस्थालाई रवीन्द्र मानन्धरको कार्टुनले झल्काएको छ । यसरी कार्टुनिस्टहरूले भ्रष्टाचारका विविध स्वरूपलाई निसाना बनाउनुभएको छ । भ्रष्टाचारका विविध अनुहारलाई केलाएर कार्टुनिस्टले यसका अनेक हाँगामा प्रहार गर्ने प्रयास गर्नुभएको छ ।

भ्रष्टाचारको विषयमा नै प्रदर्शनी किन, प्रश्न त उठ्छ नै । वास्तवमा बेथिति र विसङ्गतिको सुरुवात भ्रष्ट आचरणबाट नै सुरु हुन्छ । आचरण नै भ्रष्ट भएपछि राजनीति पनि अछूतो रहने कुरो नै भएन । सबै क्षेत्रलाई सही ‘ट्र्याक’मा ल्याउने राजनीति नै भ्रष्टाचारको दलदलमा फसेपछि सुशासन त झन् कतै देख्न पाइँदैन । काठमाडौँमा प्रदर्शनी उद्घाटनका क्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको र यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको औँल्याउनुभयो । उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको बताउनुभयो । 

समजमा भ्रष्टाचारको जालो कहिलेदेखि बुनिन थाल्यो, यसको यकिन प्रमाण त भेट्टाउन नसकिएला तथापि यो विषय मानव सभ्यताको उदयसँगै मौलाउँदै गएको पाउन सक्छौँ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा भ्रष्टाचारीलाई राज्यका शत्रुका रूपमा चित्रित गरिएको छ । पहिला सुसुप्त रूपमा रहेको वा कमै मात्र सुनिने भ्रष्टाचार अहिले समाजको अभिन्न अङ्गजस्तो भएको छ । 

कार्टुनले नयाँ कुरा बताउँदैन । समाजमा रहेका बेथिति र विसङ्गतिलाई खोतल्ने काम गर्छ । जब राज्य निरीह बन्छ, तब सर्जक अघि बढेको इतिहास पनि छ । यस अर्थमा यो प्रदर्शनीको माध्यमबाट कार्टुनिस्टहरूले समाजमा व्याप्त भ्रष्टाचारलाई उखेल्न होस्टेमा हैँसे गरेका छन् । प्रदर्शनीका विषयमा कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिज भन्नुहुन्छ, “समाजमा भ्रष्टाचारको ग्राफ बढेको बढ्यै छ । भ्रष्टाचारले समाजमा यसरी जरा गाडेको छ कि भ्रष्ट पुरस्कृत र सदाचार उल्टै निरुत्साहित हुन थालेको देखिन्छ । राज्यले राज्यको ‘क्वालिटी’ गुमाएको छ । जिम्मेवार निकायका मानिस आफ्नो कर्तव्य भुलेर अकुत धन थुपार्नमा लागेका छन् । यस्तो अवस्थामा भ्रष्टाचार हाम्रो राज्य र समाजको दीर्घरोग बन्न पुगेको छ ।” 

यो दीर्घरोग निर्मूल पार्न राज्य, समाज र नागरिक सबैको जिम्मेवारपूर्ण भूमिकाको आवश्यकता बोध गर्दै जनमानसमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न ‘निसाना’ शीर्षकमा कार्टुन प्रदर्शनी गरिएको क्षितिजले जानकारी दिनुभयो । देशका सातै प्रदेशका मुख्य सहरमा यो प्रदर्शन गरिनेछ । आशा छ, यो प्रदर्शनीले कलाको केन्द्रभन्जन त गर्ने नै छ, मोफसलबाट पनि भ्रष्टाचारविरुद्ध सबैलाई जागरुक बनाउन महìवपूर्ण भूमिका निर्वाह गर्नेछ ।