• १४ असोज २०८२, मङ्गलबार

सखिया नाचले गुल्जार बन्दै थारू गाउँवस्ती

blog

सख्या नाच नाच्दै दंगीशरण ३ चखौराका थारू युवतीहरु । तस्बिरः सन्तोष दहित

सन्तोष दहित 

दाङ, असोज १४ गते । कानकहि पँयरिया मै जलम मैं लेहनु रे । सखि रे इह रि पँयरिया रि मोर नाउ रि रहिजा ।। सखि र इह रि पँयरिया रि मोर नार्उ रि रहिजा ।। इह लेओ महरिन रि बेटवक नाउँ रे । सखि रे परि ट गैल रि कहनैया बिर नाउँ ।। सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।। यो गीत  र मादलको आवाजले अहिले थारू गाउँबस्ती गुन्जायमान बनेका छन् । 

थारू समुदायका युवती तथा महिलाहरु थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सखिया गीत गाउँदै नाचिरहेका छन् भने उनीहरुलाई पुरुष मादले (मन्डर्या) ले मादल बजाएर साथ दिइरहेका छन्।

दशैं सरू हुनु अगावै सुरू भएको  सख्या नाचले गाउँबस्तीमा अहिले दशैंमय बनेको मात्र छैन, थारु गाउँहरु अहिले सख्या नाचले गुल्जार बनेका छन् । दाङको थारु बाहुल्य रहेका गाउँहरुमा यही सख्या, पैयाँले थारु गाउँमा दशैंको रौनक छाएको छ । करिब एक महिनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन् । 

भदौमा गरिने हार्या गुरै पूजा सुरू भएदेखि बडा दशैंपछि एक सातापछिसम्म सामूहिकरूपमा मादल र मन्जिराको साथमा सख्या गीत गाउँदै सख्या नाच्ने गरेको घोराही –१० की इन्दिरा चौधरीले बताउनुभयो ।

के हो सखिया (सख्या) नाच

थारू संस्कृतिविद् अशोक थारूका अनुसार सख्या थारु लोकभागवत् पुराण हो । आख्यानको आधारमा सख्यालाई लोककाव्य महागाथाकोे कोटिमा राख्न सकिने उहाँको भनाइ छ । सखियालाई सख्या पनि भनिन्छ । साथीहरु मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको उहाँको तर्क छ । यस्तै धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताको नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिएको संस्कृतिविद् चन्द्रप्रसाद चौधरीले बताउनुभयो । यस्तै, सख्या गीतमा जमिनमा बस्ने सबै जीवजन्तुको नाम पनि सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उहाँको भनाइ छ।

कसरी नाचिन्छ सख्या

सख्या नाचको नेतृत्व मोह्रिन्या (गीत गाउने युवतीको मुख्य व्यक्ति) ले गर्छन् । मोह्रिन्याको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन् । यी दुबै जनाको पछि १५ देखि ४० जना बठिन्या (युवती) ले गाएर सघाउँछन् । गाउँमा भएका लगभग सबै बठिन्याहरु सख्या नाचमा सहभागिता जनाउँछन् । जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति हुन्छ ।


सख्या नाच नाच्ने बेला दुईवटा समूह बनाएर नाच्ने गरेको घोराही –१० की इन्दिरा चौधरीले बताउनुभयो । उहँँका अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउँदा शुरूवात मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताउनुभयो । 

मादले भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गरेको उहाँले जानकारी दिनुभयो । यसरी सख्या नाचसँगै बिचबिचमा विभिन्न किसिमका पैयाँ (पैढार) नाच पनि देखाइन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिको समयमा सख्या नाच्ने चलन छ । गाउँले टीका अर्थात् नवमीको दिनदेखि बडादशैंको दिनसम्म भने दिउँसै सख्या पैयाँ नाच नाच्ने गरिन्छ ।