• ६ भदौ २०८२, शुक्रबार

मेरो पारिश्रमिक बजारले बढाइदिएको हो : विजय बराल

blog

हास्य र ग्रामीण चरित्रका भूमिकाले चिनिएका कलाकार हुनुहुन्छ, विजय बराल । उहाँ सर्लाहीको लालबन्दीबाट कमेडी आर्टिस्ट बन्छु भनेर काठमाडौँ छिर्नुभएको थियो । चुनौतीपूर्ण चरित्रमा रमाउन सक्ने गम्भीर र मेहनती कलाकारको छवि बनाउनुभएका बराल ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को मुख्य भूमिकामा देखिनुभएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’ मा उहाँले गर्नुभएको पूर्णबहादुर गन्धर्वको भूमिकाको चौतर्फी प्रशंसा भएको थियो । अहिले उहाँ अभिनीत चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शनको तयारीमा छ । नाट्यकर्मी हुँदै चलचित्रमा अभिनेता बन्नुभएका बरालसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी : 

 चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को सफलतापछि जीवनमा कस्तो परिवर्तन आयो ?

परिवार र समाजले हेर्ने नजरमा परिवर्तन भएको देखिन्छ, त्यसले भिन्न किसिमको ऊर्जा दिन्छ । मलाई अझ जिम्मेवार बनाएको छ । अब आउने काममा बुझेर गहन तरिकाले हेर्नु पर्छ भन्ने भएको छ । जुन मेरो सोचाइमा आएको परिर्वतन हो । आर्थिक परिवर्तनको कुरा गर्ने हो भने त्यो पनि केही मात्रामा भएको अवस्था छ ।  

 एउटा रङ्गकर्मी जो चलचित्रमा सहायक भूमिकामा रमाइरहेका थिए, एक्कासि यसरी ‘हाइप’ मा आउँछु जस्तो लागेको थियो ?

सहायक भूमिका होस् या अन्य भूमिका म ‘क्यारेक्टर’ मा रमाउने मान्छे हुँ । ‘पूर्णबहादुरको सारङ्गी’ मा मैले मुख्य चरित्र भनेर अभिनय गरेको थिइनँ । अन्य चलचित्रमा जस्तै यसमा पनि त्यही किसिमले आफूलाई प्रस्तुत गरेँ । यद्यपि जीवनमा जुनसुकै अवस्थामा हरेक कलाकारको एक न एक दिन आफू सफल हुन्छु भन्ने लक्ष्य हुन्छ । मेरो भित्री मनको कुनामा पनि सफल हुन्छु भन्ने कहीँ न कहीँ थियो । पूर्णबहादुरको सारङ्गीले त्यो सफलता र हाइप दिलाएको छ ।

 अहिले त तपाईंको पारिश्रमिक पनि बढेको सुनिन्छ नि ?

हो, एकदमै बढेको हो । यो बजारले बढाइदिएको हो । निर्माताले चलचित्रको प्रस्ताव गर्दा नै पारिश्रमिक बढाएर आउँछन् । त्यही किसिमले भूमिका अनुसार पारिश्रमिक बढेको कुरा सत्य हो ।  

 रङ्गमञ्चभित्रको रङ्ग कसरी चढ्यो ?

एक त आफूलाई अभिनय गर्ने लोभ र गाउँबाट हुटहुटी भएर सहर छिरेको थिएँ । सहरमा मीनभवन कलेज पढ्दा नाटक हेरेको र नाटकको रङ्ग हेर्दा रङ्गमञ्च भने पनि विभिन्न रङ्गको समायोजन भएको ठाउँ हेरिरहँदा आफूलाई पनि त्यही महसुस गर्ने मौका पाएँ र त्यही पात्र म हुँ भन्ने पनि भयो । त्यही पात्र डो¥यउँदा डो¥याउँदै रङ्ग चढ्न थाल्यो । बाल्यकालदेखि नै क्यारिकेचर गर्ने हुनाले मलाई मेरा साथीभाइ, इष्टभित्रको हुटहुटीले यतातिर तानेको हो । पहिलो पटक गुरुकुलमा ‘रङ्गको सपनाहरू’ हेरेपछि मेरो हुटहुटी बढेको हो । 

 रङ्गकर्मी स्टार बनेपछि भुइँमा खुट्टा हुँदैन भन्छन्, तपाईंमा त त्यो लागु भएको छैन नि ?

मेरो खुट्टा भुइँमै छ, लरबराएको छैन । यो एउटा भनाइ मात्र हो, जुन कसैमा लागु हुन्छ कसैमा हुँदैन । मलाई यस्ता कुराको खासै तुक लाग्दैन । चलचित्र क्षेत्रबाट मैले स्टारको ट्याग लागेको कलाकार दयाहाङ राईलाई पनि आँखाले देखेको छु र थिएटरका दिग्गजलाई पनि नियाल्दै आएको छु । स्टार हुनेबित्तिकै भयङ्कर हुनु पर्छ भन्ने होइन । आफ्नो कर्मलाई राम्रो बाटोतिर लैजाँदै जाने हो । 

तपाईको सफलताको सूत्र के हो ?

यसमा म आफ्नो भाग्य नै सबै कुरा हो भन्छु । सफलतालाई भाग्यले निर्धारण गर्छ । सफलता ८० प्रतिशत भाग्यमा भर पर्छ । मलाई लाग्छ, यो सफलता ‘पूर्णबहादुरको सारङ्गी’ भन्दाअघि नै पाउनुपर्ने थियो तर त्यो भएन । सायद त्यतिबेला मलाई भाग्यले साथ नदिएको हुन सक्छ तर भाग्यले नै सबै कुरा निर्धारण गर्छ भनेर आफ्नो कर्म गर्न छाड्नु भने हुँदैन । भाग्य जरुरी छ तर क्षमता र तयारी पनि महìवपूर्ण कुरा हुन् । हामीले सपना देख्नु पर्छ । क्षमता र लगन छ, भरपुर तयारी गर्नुहुन्छ भने सपना अवश्य पूरा हुन्छ ।

‘जनै हराएको मान्छे’ कस्तो चलचित्र हो ? चलचित्रबाट कत्तिको आशावादी हुनुहुन्छ ?

चलचित्र धर्म संस्कृतिभन्दा पनि सम्बन्धको कथा हो । कोरिया जान्छु भनेर आएको मुख्य पात्र काठमाडौँमै अलमलमा पर्दा उसको सपना कसरी गन्तव्यहीन बन्न जान्छ भन्ने कुरा चलचित्रको कथाले उजागर गर्छ । ‘पूर्णबहादुरको सारङ्गी’ लाई झैँ यस चलचित्रलाई पनि दर्शकले माया गरिदिनुहुन्छ भन्नेमा एकदमै आशावादी छु ।