दार्चुला समाचारदाता
दार्चुला, भदौ ६ गते । तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम अलपत्र परेको छ । चार वर्षपहिले केएस कन्स्ट्रक्सन प्रालि धनगढीले विमानस्थलमा माटो भर्ने (फिलिङ र ग्याबिन) को काम गरे पनि त्यसपछि बजेट अभावमा निर्माण अलपत्र परेको हो । शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकले समेत सेवा पाउने छन् । तत्काल बजेट विनियोजन गरेर विमानस्थलको बाँकी काम अगाडि बढाउनुपर्ने स्थानीयवासीको माग छ ।
२०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० सालदेखि बन्द रहेको छ । २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । बन्द भएको तीन दशकभन्दा बढी बितेपछि विमानस्थलको भवन भग्नावशेषमा परिणत भएको छ भने पक्की गर्नुपर्ने विमानस्थल खेल मैदान र गौचरनमा परिणत भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा विमानस्थल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ५० करोड ४९ लाख ४९ हजार बजेटको सुनिश्चित गरिएको थियो । त्यसपछि बहुवर्षीय ठेक्का भएर २०७८ सालमा तीन करोड ५८ लाखमा फिलिङ र ग्याबिनको काम सम्पन्न गर्ने गरेर केएस कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।
अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चित भएर बहुवर्षीय ठेक्का भए पनि लक्ष्य अनुसार पछिल्ला वर्षमा बजेट निकासा नहुँदा कार्य प्रगति न्यून रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताउनुभयो । पछिल्ला वर्षमा विमानस्थलमा बजेट विनियोजन नहुँदा निर्माण अलपत्र परेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि पहल गर्न नसकेको भन्दै दार्चुलाबाट निर्वाचित प्रदेश र सङ्घीय सांसदसँगै सरकारसँग स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन् । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झन्डै साढे तीन सय किलोमिटर सडकमार्गबाट सास्ती भोग्दै दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।
दार्चुलाको विकासका लागि महत्वपूर्ण मानिएको गोकुलेश्वर विमानस्थल छिटो पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको जोडदार माग रहेको छ ।