• १६ चैत २०८०, शुक्रबार

ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण

काठमाडौं महानगको बजेट दोब्बर बढ्यो : प्राथमिकतामा सम्पदा संरक्षण

blog

तस्बिरः केशब गुरुङ

काठमाडौं, असार १० गते। काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा महानगर क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई प्राथमिकता दिइएको छ। महानगर उपप्रमुख सुनिता डंगोलले भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित नगरको ११ औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। 

जसअन्तर्गत वडा नम्बर ११ मा अवस्थित हरिभवनको प्रवलीकरण, सरकारी, निजी तथा गैरसरकारी संस्थाको खाली रहेको जग्गामा पोखरी निर्माण, डबलीको पुर्नस्थापना, बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षणको विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

चालु आर्थिक वर्षभन्दा दोब्बर बजेट

महानगरको आगामी आर्थिक वर्षको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट विनियोजना भएको छ। यसअघि आर्थिक वर्ष २०७७÷७८ मा कुल १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजना भएको थियो। उपप्रमुख डंगोलले आगामी आर्थिक वर्ष वडा कार्यालयलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने उद्देश्यका साथ दोब्बर बजेट विनियोजन गरिएको बताउनुभयो। 

जसमा सबैभन्दा धेरै बजेट पूर्वाधार विकास क्षेत्रका लागि ४९ दशमलव ५७ प्रतिशत अर्थात् ११ अर्ब आठ करोड ८९ लाख तीन हजार विनियोजन भएको छ। यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि कुल बजेटको २० दशमलव ९६ प्रतिशत अर्थात् चार अर्ब ६८ करोड ९८ लाख ६० हजार रकम विनियोजन गरिएको छ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १९ दशमलव ९६ अर्थात् चार अर्ब ४६ करोड ५८ लाख ४० हजार, सामाजिक विकासमा ७ दशमलव २५ अर्थात् एक अर्ब ६२ करोड २८ लाख २२ हजार रकम छुट्याइएको छ। आर्थिक विकास अन्तर्गतका कार्यक्रममा २ दशमलव २४ प्रतिशत अर्थात् ५० करोड २१ लाख २४ हजार रकम छुट्याइएको छ।

इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने

हिटी, मठमन्दिर निर्माणदेखि महानगरको कला, संस्कृति र चाडपर्वलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय रुपमा परिचित बनाउन विशेष कार्यक्रम गरिने उपप्रमुख डंगोलले बताउनुभयो। 

एमपी थियटर निर्माणदेखि सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा गुणात्मक सुधार, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सीसीटिभी, विपद् जोखिम नक्साङ्कन, दमकल स्टेशनको विस्तार, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, सार्वजनिक जग्गा संरक्षण एवम् हरियाली पार्क निर्माण जस्ता कार्यक्रम मुख्य प्राथमिकतामा छन्।



घर-घरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

महानगरले घर-घरमा गएर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने कार्यक्रममा पनि जोड दिएको छ। 

युवा केन्द्रित कार्यक्रमलाई अघि बढाउदै महिलाको सीप विकासमार्फत् स्वरोजगारदेखि मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने महानगरले जनाएको छ। मृत जीवजन्तुको अन्तिम संस्कारका लागि शवदाह गृहको निर्माण, महानगर इ–लाइब्रेरी लगायतका शीर्षकमा बजेट छुट्याइएको छ।

सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्तरोन्नती  गर्न बजेट विनियोजन गरिएको डंगोलले बताउनुभयो।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।