• ७ वैशाख २०८१, शुक्रबार

बागबजारको धारा र ट्युबवेलको पानीमा भेटियो दिसाको जीवाणु

blog

प्रतिकात्मक तस्बिर

काठमाडौं, असार १० गते। काठमाडौंको बागबजार क्षेत्रको पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु भेटिएको छ।  केही दिनअघि बागबजारका दुई जनामा हैजा पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणका क्रममा त्यहाँको पानीमा दिसाको जीवाणु भेटिएको हो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार बागबजार क्षेत्रको पानीको नमुनामा दिसामा पाइन इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको हो। 

उहाँका अनुसार थप हैजा पुष्टि भएका आठ ठाउँको पानी परीक्षण गर्न प्रयोगशाला पठाइएको छ। त्यसको नतिजा आउन बाँकी छ।

अहिलेसम्म आठ जनामा हैजा पुष्टि 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं र ललितपुरमा गरेर अहिलेसम्म आठ जनामा हैजा पुष्टि भएको छ। 

महाशाखाका निर्देशक डा. दासका अनुसार पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान र वयोधा अस्पताल र शुक्रराज ट्रपिकल तथा सुरुवारोग अस्पतालमा भएको नमुना परीक्षणका क्रममा आठ जनामा हैजा पुष्टि भएको हो। 

हैजा पुष्टि भएकामध्ये तीन जना निको भएर घर फर्किसकेका छन्। अन्य पाँच जना शुक्रबार डिस्चार्ज हुने सरुवा रोग अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो। 

हैजा नियन्त्रणमा सरकारको तयारी

सरकारले हैजा फैलन नदिन प्रदेश र स्थानीय तहमा जनचेतनामूलक  कार्यक्रम अगाडि बढाएको निर्देशन दासले जानकारी दिनुभयो

जनचेतना जगाउने, पानीको गुणस्तरको निगरानी गर्नुका साथै देशभरका अस्पतालमा झाडापखाला तथा हैजाको बिरामीमा निगरानी बढाइएको उहाँको भनाइ छ। 

काठमाडौं महानगरपालिका, जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसँग महाशाखामा बसेको बैठकले हैजा फैलिन नदिने योजना बनाएको निर्देशक दासले बताउनुभयो। 

हैजा के हो ? 

टेकु सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसका अनुसार भिब्रियो कोरेला नामक ब्याक्टेरियका कारण हैजा लाग्छ। 

हैजा लागेको मानिसको दिसामा कीटाणु देखिन्छन्। स्वास्थ्य लापरवाहीले यस्ता कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसको पेटमा जाने गर्छ। भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने डा. चालिसे बताउनुहुन्छ। 

निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन्।  हैजा लागेपछि तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने लक्षणसमेत देखिन सक्छन्। 

हैजाका कारण शरीरमा पानीको मात्रा कम हुँदा पिसाब बन्द भएर मिर्गौला फेल हुने सम्भावन हुन्छ। यसले मानिसलाई मृत्युसम्म पुर्याउने चालिसेको भनाइ छ। हैजा भइसकेपछि शरीरमा पानीको मात्र बढाउन प्रशस्त झोलिलो पदार्थ खानुपर्छ। 

“दाल, दही फलफूलको जुस, आलु, केरा जस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ। बिरामीलाई अस्पतालमा लान नसकेमा घरमा नै जीवनजल बनाएर खुवाउन सकिन्छ। पखाला लाग्दा शरीरमा पानीको मात्रा कम हुने हुँदा धेरै मात्रामा जीवनजल खानुपर्छ’’, उहाँले भन्नुभयो। 

पानी उमालेर पिउने, बासी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा र पिसाब गरेपछि मिचिमिची साबुन पानीले हातखुट्टा धुन  चिकित्सकले सुझाव दिने गरेका छन्। घरमा कसैलाई हैजा भएमा त्यहाँबाट निस्कने फोहोरको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।