• १ भदौ २०८२, आइतबार

गाजामा इजरायली आक्रमण, ४० जनाको मृत्यु

blog

गाजामा इजरायली आक्रमणपछिको दृश्य । फाइल तस्बिर

  • हमासले भने यस कदमलाई ‘गाजा सहर कब्जा गर्ने क्रूर योजनाको हिस्सा’ भन्दै कडा विरोध गरेको छ ।
  • गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसाको  सामना गरिरहेका छन् 

गाजापट्टी, भदौ १ गते । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । 

यो घटनालाई इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअघि गरिएको ठूलो आक्रमणको सङ्केतका रूपमा हेरिएको छ ।

बाइस महिनादेखि चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट निम्त्याइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने निर्णय एक हप्ताअघि मात्र गरेको थियो । त्यसअन्तर्गत सेनाले आइतबारदेखि गाजामा थप पाल र आश्रय सामग्री पठाउने बताइएको छ ।

हमासले भने यस कदमलाई ‘गाजा सहर कब्जा गर्ने क्रूर योजनाको हिस्सा’ भन्दै कडा विरोध गरेको छ ।

गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार गाजा सहरको जितुन क्षेत्र अत्यन्तै खराब अवस्थामा पुगेको छ । त्यहाँ करिब ५० हजार मानिस रहेका र तिनीहरूमध्ये धेरैजना खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएको उहाँले बताउनुभयो ।

हालैका दिनमा गाजा सहरका आवासीय क्षेत्रहरूमा निरन्तर हवाई आक्रमण भएको स्थानीयवासीले बताएका छन् । सेनाले भने आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानुनअनुसार भएको दाबी गर्दै नागरिक क्षति कम गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

एक स्थानीय बासिन्दा घसन कास्कोले भन्नुभयो, “हामीलाई निद्राको स्वाद थाहा छैन । विस्फोट र बमबारी कहिल्यै रोकिन्न ।”

संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायतामा कटौती गरेकाले यस क्षेत्रमा ठूलो अनिकालको खतरा रहेको चेतावनी दिएका छन् । 

शनिबार मात्र गाजामा सहायता वितरण स्थल नजिकै सेनाले गोली चलाउँदा खाना लिन लाइनमा उभिएका १३ जना प्यालेस्टिनीको ज्यान गएको बताइएको छ ।

सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको यस युद्धमा हालसम्म एक हजार दुई सय १९ इजरायलीको ज्यान गएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण ६१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।  

दस लाखभन्दा बढी महिला उत्पीडनमा 

यसैबीच, गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुर्व्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसङ्घको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले शनिबार चेतावनी दिएको छ ।

एजेन्सीले सामाजिक सञ्जालमा लेख्दै भन्यो, “गाजामा भोक तीव्ररूपमा फैलिरहेको छ । महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यानको समेत खतरा छ ।”

एजेन्सीले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन आग्रह गरेको छ । गाजामा हाल २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको छ । योसँगै भोकमरीका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन् ।

गत वर्षको मार्च महिनादेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन् ।

गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एक गाडी पनि जीवनरक्षक सामग्री पुर्‍याउन नसकेको जनाएका छन् । इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको जनाएको छ । जुलाई महिनामा मात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा एक हजार ७६० जना गाजावासीको ज्यान गएको छ । तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका हुन् ।

रासस/सिन्ह्वा/एएफपी