रेखीराम राना
तानसेन, भदौं १ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गर्नुभएको छ । केही मानिसले सरकार आजै ढल्छ, भोलि ढल्छ भने पनि त्यो कल्पना मात्र भएको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पाको आयोजनामा आइतबार तानसेनमा गरिएको पत्रकार भेटघाट कार्यक्रम उहाँले नेपाली कांग्रेस र एमालेको सरकार आगामी चुनावसम्म जाने बताउनुभयो । उहाँले सरकारमा दुई दलबिच भएको एकताले सरकार ढाल्छौँ भन्नेहरु अहिले चुप लागेर बसेको चर्चा गर्नुभयो ।
सरकारले जनचाहनाअनुसार काम गर्ने र दुबै पार्टीले परामर्श गरेर अगाडि बढ्ने मन्त्री पौडेलले बताउनुभयो । एमाले र काँग्रेस देश र जनताको हितमा काम गर्ने पार्टी भएको उहाँले दाबी गर्नुभयो ।
अर्थमन्त्री पौडेलले अस्थिरताको खोजी गर्ने दिन गएको बताउँदै अब नेकपा (माओवादी केन्द्र) ले मुलुकलाई अस्थिरतामा लैजानबाट रोकिएको उल्लेख गर्नुभयो । दृष्टिकोण, एजेन्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको उहाँले बताउनुभयो । ‘मुलुुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं, उहाँले भन्नुभयो, “यही सरकारले मुलुकको भविष्य बनाउँछ ।”
उपप्रधानमन्त्री पौडेलले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ, कमिला हिँड्न थाल्छ ।’ रास्वपा अब हराउँदै जाने दाबी गर्नुभयो ।
उहाँले नेपाल प्रतिगमनतिर जाने सम्भावना नरहेको उल्लेख गर्दै प्रतिगामी तत्वहरू किनारा लागिसकेको बताउनुभयो । उनीहरूको नेपालमा भविष्य नरहेको मन्त्री पौडेलको दाबी छ । प्रतिगामी एजेन्डा बोकेर समय नफाल्न उहाँले राजावादीहरुलाई आग्रह गर्नुभयो ।