राममणि दाहाल
मकवानपुर, भदौ १ गते । फुटबल खेललाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको मकवानपुरको बागमती गाउँपालिकाले बागमती फुटबल एकेडेमी सञ्चालनमा ल्याएको छ ।
पालिकाले एकेडमीलाई लक्षित गरी आइतबारबाट पालिकाको वडा नम्बर ४ स्थित सहिद स्मृति रङ्गशालामा खेलाडी छनोट सुरु गरेको छ ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पहिलो दिन वडा नम्बर ४ र ५ नम्बरका खेलाडीहरु छनोट गरेको भन्दै नौ वटा वडा रहेको पालिकाका सबै वडामा यही भदौ ८ गतेसम्ममा पहिलो चरणको खेलाडी छनोट गर्ने गरी खेलाडी छनोट सुरु गरेको जानकारी दिनुभयो ।
नौ वटै वडामा छनोटपछि अन्तिम चरण छनोटमा परेका खेलाडीलाई एकेडेमीमा राखेर व्यावसायिक रुपमा प्रशिक्षण प्रदान गर्ने पालिकाले योजना बनाएको उहाँले सुनाउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामाले सरकार र एन्फाबीचको सहकार्य स्थानीय तहबाट कार्यान्वयन सुरुभएको भन्दै एकेडेमी सञ्चालनका लागि एन्फासँग सहकार्य गर्ने बताउनुभयो ।
मुख्य प्रशिक्षक मेघराज केसीको टिमले खेलाडी छनोट सुरु गरेको छ । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब फुटबलका व्यावसायिक खेलाडी उत्पादन गर्ने गरी एकेडेमी सञ्चालनको तयारी थालेको हो ।
छनोटमा परेका खेलाडीहरुलाई बागमती गाउँपालिका ८ स्थित एकेडेमी भवन राख्ने व्यवस्था मिलाउने गाउँपालिकाले तयारी गरेको छ । महिला र पुरुष खेलाडीका लागि छुट्टाछुट्टै एकेडेमी भवनको व्यवस्था गरिएको छ । सङ्ख्याभन्दा खेलाडीको क्षमता र लगावमा आधारमा छनोट गरिने पालिकालेको जनाएको छ ।