काठमाडौँ, भदौ १ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गरी २२औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल पर्नुभएको छ ।
मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले हस्ताक्षर गर्नुभयो ।
जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डमा खेलाडी मनोनयन उनीहरुको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर गरिएको हो । स्पोर्ट्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ ।
मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुशी लागेको र आफ्नो एक सपना पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अवार्डमा मनोनित हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरुले मलाई माया गर्नुहुनेछ ।’’
यस्तै उसुका विजयले उसु खेल अन्य खेल जस्तै लोकप्रिय नभएपनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थेँ कुनैदिन मनोनयनमा पर्नेछु, त्यो सपना अहिले पूरा भएको छ ।’’
पत्रकार सम्मेलनमा पुजा, इभाना र हिमाल उपस्थित हुनुभएन । पिपल्स च्वाइस विधाका विजेता चयन खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा हुनेछ । यस विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ । अवार्ड भदौ २९ गते पोखरामा हुनेछ ।