वसन्त पराजुली
नारायणगढ, भदौ १ गते । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा माथिबाट खसेको ढुङ्गा लाग्दा एक जना घाइते भएका छन् । आइतबार साँझ करिब ५ः४० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा सडकमाथिबाट ढुङ्गा झरी लागेको हो ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सो घटनामा परी रत्ननगर नगरपालिका– ३ बस्ने सन्दीप रिजाल घाइते हुनुभएको छ । उहाँको दाहिने खुट्टामा चोट लागेकाे छ । हाल उहाँको भरतपुरमा उपचार भइरहेको छ ।
नारायणगढ मुग्लिन सडकमा पछिल्लो समय माथिबाट ढुङ्गा झर्ने समस्या छ । दुई दिन अघि पनि सोही स्थानमा ढुङ्गा झरेर एक ट्रकमा क्षति पुगेको थियो ।
यता नारायढगढ मुग्लिन सडकको तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । आइतबार बिहान ४ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिङ नारायणगढ सडक खण्डमा सडकमाथिबाट सुख्खा पहिरो खसी बाटो दुईतर्फी अवरोध भएको हो ।