रामकृष्ण बोहोरा
बागलुङ, भदौ १ गते । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । उद्योग तथा पर्यटन कार्यालय बागलुङले पर्यटकको सुविधाका लागि पदमार्गसँगै काठेपुल र विश्रामस्थल निर्माण गरेको हो । पछिल्लो समय ढोरपाटनको बुकीपाटन क्षेत्रमा जाने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुन थालेपछि २० लाख रुपियाँ खर्च गरेर पाँच सय मिटर पदमार्गसँगै खोलाखोल्सामा तीन काठेपुल र तीन विश्रामस्थल निर्माण गरिएको पर्यटन कार्यालयका इन्जिनियर सुजन दरैले जानकारी दिनुभयो । ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटो बाटो मात्रै छन् । अहिले निर्माण गरिएको पदमार्ग पर्याप्त नभएकाले गार्पादेखि बुर्की र टीकाधारा क्षेत्रमा जाने बाटो अझै जोखिम रहेको छ ।
बर्खामा चिप्लो र भिरको बाटो हिँड्नुपर्दा अधिकांश पर्यटक गार्पा छेडाबाटै फर्कने गरेका छन् । ढोरपाटन उपत्यकाबाट एक दिनको पैदलयात्रामा टीकाधारा र बुकीपाटन पुग्न सकिन्छ । बुकीपाटन फन्को मार्ने पर्यटकले भेडीगोठमा बस्ने, खाने र मनोरञ्जनसमेत लिने गर्छन् ।
गार्पाछेडा, चेप्टा ढुङ्गा, साँघुरे गौँडा, अन्तरेथरी, ठाडोखोला, ढुङ्गे देउरालीमा अप्ठ्यारो बाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । यद्यपि यो क्षेत्रका जलजला, सुर्तीबाङ, टीकाधारा र जाल्पा तालले पर्यटक लोभ्याउने गरेको छ । ती स्थानमा पर्यटक सहजै लैजाने पदमार्ग निर्माण भएमा वार्षिक ५० हजारदेखि एक लाखसम्म पर्यटक भित्र्याउन सकिने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती बताउनुहुन्छ ।
चालु आर्थिक वर्ष पनि ढोरपाटन–बुकी–फागुने–सुर्तीबाङ चक्रीय पदमार्ग निर्माणका लागि १५ लाख रुपियाँ विनियोजन भएको छ । पदमार्गका लागि बजेट छुट्टिए पनि काम गर्न भने प्रव्रिmया नै झन्झटिलो रहेको पर्यटन कार्यालयका प्रमुख पारसिंह थापाको अनुभव छ । थापाले भन्नुभयो, “सरकारी काममा सरकारी कार्यालयबाटै हुने अवरोध हट्नु पर्छ । अनि मात्र विनियोजन भएको बजेट खर्च गर्न सकिन्छ र काम हुन्छ ।” विगतमा ढोरपाटन सिकार आरक्ष, पर्यटन, वन विभाग, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मन्त्रीपरिषद्को कार्यालय धाएपछि मात्र आरक्षको निगरानीमा पर्यटकीय संरचना निर्माणको काम भएको थियो । पर्यावरण जोगाउन ढुङ्गाको पदमार्ग र काठको विश्रामस्थल बनाएकाले पर्यावरण संरक्षण र वन्यजन्तुबारे सचेत बनेको थापाको भनाइ छ ।
यो वर्ष बुकीपाटनमा पर्यटक आगमन बाक्लो हुँदा भेडीगोठालेले समेत टेन्टमा पाहुना राखेर राम्रो आम्दानी गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो । धेरै पर्यटक ढोरपाटन पुग्न थालेपछि होटेल र होमस्टे व्यवसाय फस्टाउँदा स्थानीय आयआर्जनमा जोडिएका छन् । अघिल्ला वर्ष झन्डै २० हजार पर्यटक जाने ढोरपाटनमा यो बर्खायाममा मात्रै ३० हजारभन्दा बढीले घुमेको तथ्याङ्क छ ।