रासा
मुख्य सडक । यसको बायाँतर्फ छेउमा एउटा मन्दिर । भित्रपट्टि अर्को सहायक सडक । वरिपरि मानव बस्ती । ठाउँ–ठाउँमा चिबहाःहरू । चैत्यहरू । सानातिना देवलहरू पनि । अलिक पर एउटा ढुङ्गेधारा । धारो–मास्तिर पुरातन फल्चा ।
.....
यही फल्चामा हो, हाम्रो अधिकांश समय व्यतीत हुने । हामी उमेर ढल्किएका, बूढाबूढीहरू यहीँ सुस्ताउँछौँ । अधबैँसेहरू पनि कहिलेकाहीँ आउँछन् । युवा–युवतीहरू त्यति बस्दैनन् । किशोर–किशोरीहरू फाट्टफुट्ट आउँछन्–जान्छन् । बच्चा–बच्चीहरू खेल्छन् यही स्थानमा ।
......
जाडो महिना । बिहानको नौ बज्दो छ । घाम भर्खर लाग्दो छ । चिसो छ । कुइरो पुरा हटेको छैन ।
......
सडकमा गाडीहरू हुइँकिरहेका छन् । मन्दिरमा दर्शनार्थीहरूको घुइँचो छ । भीडभाड छ । कोलाहल व्याप्त । चिबहाः चैत्यहरूमा पनि पूजाआजा गर्नेहरूको उपस्थिति छ । अन्य देवलहरू पनि गुल्जार छन् । ढुङ्गेधारामा प्रातःस्नान गर्नेहरू व्यस्त ।
......
म भर्खरै यहाँ आएर बसेको छु, फल्चामा । तपाईंहरू मलाई चिन्नुहुन्न । चिन्नुहुन्छ त ? म भाइचा मानन्धर, उमेरले चार बीस कटेको । शरीर शिथिल भइसक्यो । काम केही गर्न सक्तिनँ । मेरा आँखाहरू धमिला भइसके । तर कानहरू टाठा छन् ।
हाम्रो पुख्र्याैली पेसा, तोरी पेलेर तेल निकाल्ने । साल थियोे, अहिले छैन । मेरी बूढी परलोकधाममा । छोरा–बुहारीहरू आआफ्ना कामधन्दामा व्यस्त । पसलहरू छन् उनीहरूका । छोरीहरू आफ्नै घरगृहस्थीमा निमग्न । नातिनातिनीहरू सबै पढाइ सकाएर जागिरमा संलग्न । म बूढो, एक्लो ।
–बाज्या, ज्वजलपा !
–ज्वजलपा !
भर्खरै मलाई नमस्ते गरेर जाने केटा यो टोलको नामुद गुन्डा हो । राजनीति गर्छ । प्रशस्त पैसा कमाएको छ । सम्पत्ति जोडेको छ । तर मलाई सम्मान गर्छ ।
म यहाँ बसिरहेकै छु । केटाकेटीहरू आएर खेल्न थालेका छन् । कोही गट्टी खेलिरहेका छन्, कोही घ्वाइँकासा खेलिरहेका छन्, त कोही ह्वाग्रा खेलिरहेका छन् ।
फल्चाको एक छेउमा एउटी बुहारी बत्ती कातिरहेकी छिन्, बिचरी एक्ली छिन् । लोग्ने मरिसक्यो । सन्तान छैनन् ।
बिस्तारै अरू साथीहरू आउँदै छन् यहाँ ।
......
मजाले घाम लागिसक्यो । कुइरो भागिसक्यो । यतिखेर न्यानो भएको छ ।
......
हेर्नुस् त, ऊ त्यो यतातिर आइरहने मान्छेलाई देख्नुभयो ? मान्छे होइन, कुकुर हो । मोटे, भुँडे । एक नम्बरको डाँका हो त्यो । दिनभरि दुई नम्बरी काम गर्छ । बिहानभरि मन्दिर चहार्छ । धर्मको स्वाङ गर्छ । तर अचम्मको कुरो, त्यसलाई सबैले मान गर्छन् ।
......
– दाइचा, छितः म्हफुला ?
– फु हे धायेमाल । छन्त ले ?
– जितः... । सिइ मफुनि, म्वानाच्वनातिनि ।
– का... का ।
यिनी मभन्दा दस वर्षले कान्छा छन् । गरिब छन् र रोगी पनि । छोरा–बुहारीले त्यति वास्ता गर्दैनन् । एक्लै टोलाएर बस्छन् ।
......
लगभग मेरै उमेरका मानध्वज साहु तमाखु खाइरहेका छन् । यिनीलाई हाइसञ्चो छ । सम्पूर्ण भरिभराउ छ । अरू के चाहियो !
......
नजिकै बेखामाया झकझकाइरहेकी छिन् । बिचरी उदास छिन् । सन्तान भएर के गर्नु, सबै विदेशमा छन् । बूढो ओछ्यान परेको धेरै भइसक्यो ।
......
हेर, त्यो पागल फेरि आइपुगेछ । लक्का जवान । हुनेखानेको छोरो । धेरै पढेलेखेको । के गर्नु ! प्रेमिकाले छोडिन् रे ! एउटी अर्की केटी बिहे गरेको, तिनी पनि भागिन् रे !
......
लम्पसार सडक । चहलपहल । मन्दिर स्थिर छ । भक्तजनहरू चलायमान छन् । फल्चा मौन छ । केवल हामी सडक, मन्दिर, फल्चा र वरिपरिका दृश्यहरू हेर्न अभिशप्त छौँ ।
......
यो फल्चामा बसेर उँघ्दा–उँघ्दै, गफसफ गर्दा–गर्दै, चुरोट तान्दा–तान्दै र यताउता हेर्दा–हेर्दै दिन बितेको थाहै नहुने भन्या !
......
दिन बित्न लागिसक्यो । साँझ ओर्लिन लागिसकिन् धर्तीमा ।
हामी भने अझै यतै छौँ ।
......
अकस्मात् हुलका हुल मानिसहरू यतै आइरहेका छन् । यताबाट गइरहेका पनि छन् । के हो यस्तो ! छिनमै बाजागाजासहित रथयात्रा । बाजाहरू बजाइएका छन् । मानिसहरू नाचिरहेका छन् । होहल्ला गरिरहेका छन् । रथलाई यताउता तानिरहेका छन् । सबैजना मुख्य सडकतर्फ अग्रसरित छन् । जात्रा जारी ।
......
सडक सुनसान भएको छ । मानिसहरू आआफ्ना गन्तव्यतिर सोझिएका छन् ।
......
अँध्यारो हुनलागेको छ । फल्चा पनि अँध्यारिएको छ । अरू उठेर गइसके । मलाई पनि आफ्नो घर जानु छ । फल्चाबाट बिस्तारै उठेको छु । पछिल्तिरको गल्ली हुँदै घर जानुपर्छ ।
......
हठात् एक हुल मानिसहरू चिच्याउँदै–कराउँदै आए । उनीहरू भूत ! भूत ! भन्दै भागे । मेरो नजर पनि उतै प-यो । परबाट एउटी सुन्दरी आइरहेकी छिन् । म उभिएर हेरिरहेको छु । उनी हिँडेर आइरहेकी छिन् । नजिक, झन् नजिक । ऐ, उनी त जगत माड्साबकी कान्छी छोरी पो ! मैले चिनिहालेँ । तर... । उनी त केही दिनअघि मात्र मारिएकी । बलात्कृत । कसरी आज यहाँ देखापरी ! अचम्म ! मेरा ओठ–मुख सुके । डरले थरर कामेछु । त्यहीँ थुचुक्क बसेछु ।
......
भोलिपल्ट बिहान उठ्दा म अस्पतालको बेडमा थिएँ, निस्लोट पल्टिरहेको ।
.....