• १७ असार २०८१, सोमबार

सफ्टवेयर प्रणाली ‘सुत्र’ हस्तान्तरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)’को सम्पूर्ण स्वामित्व नेपालले प्राप्त गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बेलायत सरकारले उक्त सफ्टवेयर प्रणाली नेपाललाई हस्तान्तरण गरेको हो । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमनराज अर्याललाई औपचारिक रूपमा सुत्र हस्तान्तरण गर्नुभएको हो । 

सो कार्यक्रममा सुत्रको मोबाइल एप पनि सार्वजनिक गरिएको छ । महालेखा नियन्त्रक कार्यालयले छिट्टै एन्ड्रोइड र एप्पल स्टोरमा उपलब्ध गराइने घोषणा गरेको छ । नेपालका ७५३ वटै स्थानीय निकायले खर्च व्यवस्थापनका लागि प्रयोग गरिरहेको यो सफ्टवेयर निर्माणको काम सन् २०१७ देखि नै सुरु गरिएको हो । बेलायत सरकारको सहयोग र महालेखा नियन्त्रक कार्यालयको पहलमा यो सफ्टवेयर निर्माण गरिएको हो ।

सफ्टवेयरमार्फत स्थानीय तहले राजस्व अनुमान गर्ने, बजेट तयार गर्ने, बजेट स्वीकृत गर्ने, विभिन्न स्रोतबाट प्राप्त कोषको विवरण राख्ने, खर्चको लेखा तथा रिपोर्टिङ गर्न सक्छन् । यो सफ्टवेयरमा हाल १३ मोड्युल र उपमोड्युल छन् । सरकारले सन् २०१९ सबै स्थानीय सरकारमा यो सफ्टवेयर प्रयोग गर्न स्वीकृत दिएको थियो । 

कार्यक्रममा महालेखा नियन्त्रक अर्यालले सुत्रले स्थानीय वित्तीय प्रणालीलाई पारदर्शी बनाउन सहयोग पुगेको बताउनुभयो । डिजिटल नेपालको लक्ष्य कार्यान्वयनमा समेत सुत्र प्रणालीको महŒवपूर्ण योगदान रहेको उहाँको भनाइ थियो । नेपालका लागि बेलायतका राजदूतले सुत्र प्रणालीले सिर्जना गरेको पारदर्शिताले यसको विश्वसनीयता बढेको बताउनुभयो । वित्तीय अनुशासन कायम गर्दै वास्तविक समय, तथ्याङ्क व्यवस्थापनका लागि यो महŒवपूर्ण हुने उहाँको भनाइ थियो । 

नेपाल नगरपालिका सङ्घका महासचिव भीमप्रसाद ढुङ्गानाले सुत्र प्रणालीमा सबै प्रयोगकर्ताको निश्चितता हुनुपर्ने, जिन्सीको एकीकृत कारोबारको व्यवस्था हुनुपर्ने र राजस्वसमेत समेटिनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले सुत्र प्रणालीले बजेट निर्माणलाई सरल बनाउँदै प्रगति विवरण सजिलै समावेश गर्न सहयोग पुगेको बताउनुभयो ।