• ८ मंसिर २०८१, शनिबार

कपुत (कथा)

blog

दीनानाथ शर्मा

असी वसन्तको उकालो चढसेकेकी आमा डाडाँमाथिको जूनझैँ पिँढीको डिलमा बसेर अतीतका दिन गन्ती गर्दैछिन् । घरमा दुई बूढाबूढी मात्रै छन् । घरको काम सघाउन बीसौँ वर्षदेखि बसेकी बालविधवा वसन्तीले भने अझै साथ छाडेकी छैनन् । 

घर ठूलै छ । दुवै तलामा बस्ने डेरावालसित कुनै सम्पर्क छैन । भाडा बुझ्ने बुझाउने बेलामा पनि वसन्तीले नै कुरा मिलाउँछिन् । दुई छोरा दुई छोरी समेत चार सन्तान हुन् उनीहरूका । चारै सन्तान विदेशिएको वर्षौं भयो । अन्डा कोरल्ने र हुर्काउने कर्तव्य सुम्पेको छ नियतीले । पखेटा लागेपछि नौ डाँडा काटेर जान्छन् माउलाई चटक्कै बिर्सेर । दुःखजिलो गरेर छोराछोरीको हातखुट्टा लगाइदिए, हुर्काए पढाए र जान्ने सुन्ने बनाए । बाबु आमालाई बिर्से परदेशी भए ।  

धन दौलतको कमी छैन । छोराछोरीका लागि भन्दै पटुकी कसेर जोगाइ दिएका थिए उतिबेला । अहिले त्यही अर्घेलो हुन थालेको छ बुढेसकालमा । मनमा चैन छैन । छोराछोरीको अत्यार लाग्छ । चाडवाड आउँछ । छरछिमेकमा चहलपहल हुन्छ । अस्ताचलतिर प्रतीक्षाका आँखा लगाएर टोलाउँछन् । दुई थोपा आँसु खसालेर चित्त बुझाउँछन् । 

बूढाको काखमा प्राणपखेरू उडिदिए हुन्थ्यो भन्ने कल्पना गर्छिन् बूढीले । उनको अनुपस्थितिमा बूढाको हालत के होला भन्ने सोचेर उतिखेरै झस्किन्छिन् । बूढीको चिन्ताछ बूढालाई । बचेराले छोडेको निरीह परेवाको जोडी । उमेरले सिर्जना गरेका यिनै भावतरङ्गमा पौडिखेल्दै दिन बित्दै छ यो जोडीको । 

गोधुली साँझ । झल्याक झुलुक बत्ती झुल्किन थाले सहरमा । अँध्यारो झर्दैछ आगनमा । आमा कोठामा एकलै बसेर केके गर्दैछन् । एक्कासि ढोका खुल्यो । ठूलो छोरोलाई अगाडि देखेर आमा भावविभोर हुँदै हर्षका आँसु झारिन् । हाई ! ममी भन्दै छोरा सोफामा बसे ।

आमा छोराको नजिकै गएर टाउको सुम्सुम्याउँदै “सञ्चै आयौ बाबु ? उता सबै निका आनन्द होलान् ?” भनिन् । वसन्तीले हत्तपत्त कफी र पानीको ट्रे अगाडि राखिदिइन् । 

कफीको कप समाउँदै “ठीकै छन् ।  तपाईं आरामै हुनुहुन्छ नि ? बाबा खोइ, देखिनँ नि ?”

“तल्लाघरे जेठाको छोराको विवाहमा जन्त जान कर गरे । सकिनसकी गएका हुन् कतिखेर आउने हुन् कुन्नि मलाई त के आराम छ भन्नु । भान्सामा लडेर ढाड मक्र्यो । छ महिनासम्म त हलचल गर्नै भएन । त्यो बेला बूढाले पाउनु दुःख पाए । यही कम्मर पेटीको भरमा बाहिरभित्र गर्दैछु ।” भन्दै पेटी देखाइन् । छोराले कुनै प्रतिक्रिया देखाएनन् । 

“बाबु नातिनी कत्री भई । अवत ठूली भइसकी होली । कति पढी ? के गर्दैछे ? पढाइ सकिए होला । सोझी थिई विचरी !”

उत्साहित हँुदै गर्वका साथ “छोरी त ठूली भइसकी आमा । पढाइ सकेर उतै क्यानाडातिरको केटासित लभ परेछ । उसैसित गई ।”

आमा उदासिन आँखाले छोराको अनुहार हेर्दै, “अब यता फर्किन्न होला ?” भन्दै चिन्ता प्रकट गरिन् ।

“नाति पनि त ठूलो भयो होला ?  दाजु बहिनीको उमेर दुई वर्षको फरक न हो ।” 

“ठूलै भयो आमा । उसले पनि गोरी केटी टिपेर दुवैजना अस्ट्रेलियातिर गएका हुन् । पछि केमा खटपट भएछ कुन्नि । केटीले अर्कै केटो टिपेर गई रे । उसले गर्लफ्रेन्ड राखेर बसेको छ रे ।”

“गर्लफ्रेन्ड भनेको के हो बाबु ?” भन्दै बुझ्न खोजिन् । 

“यी आमाले पनि केके सोध्छिन् । केटी साथी भनेको क्या । रखौटी राखेको भनेको त हो नि ?” आमाले आश्चर्य मान्दै जिब्रो टोकिन् ।

“बुहारी सञ्चै छन् बाबु ?”

“त्यसले त मलाई दिनु दुःख दिई आमा । नाठोसित पल्केकी रहिछ । अलि समय निहुँ खोज्दै बसी । एक दिन घरमा टट्याङ टुटुङ भयो । एक चड्कन लगाई हालेँ । पुलिसमा उजुर गरिछ । सात दिन हिरासतमा बस्नुप¥यो । पोहोरासाल असारमा छोडेर गई । मोरीले मेरो कमाइसमेत लगेर विजोग बनाइ आमा” भन्दै दुःख बिसाए । 

आमाले खिन्न मनले एक पटक प्रेम र सहानुभूतिपूर्वक छोराको अनुहारमा नियालिन् । छोराको मुटुको घाउ छामेर मलम लगाउने प्रयत्न गरिन् मनमनै । छोराको दुःख सम्झेर आँखा रसाए । मन चुँडियो । आमा बोल्न सकिनन् । एकैछिन मौनता छायो । एकैछिन पछि मौनता तोड्दै सहानुभूतिपूर्वक “अब के गर्छौ त बाबु ? अब यतै बस्ने कि ? हामी पनि आज हो कि भोलि । 

बाको स्वास्थ्य झन् बिग्रेको छ । कान्छोले यता फर्किन्न भन्छ । यो घर सम्पत्ति स्याहार्न एकजना त यतै बस्नुपर्ने हो । तिमीलाई उता पनि त्यति राम्रो भएन छ । यतै आएर घरजम गरे भएन ?” भन्दै सुझाइन् ।

छोरा गर्वका साथ “उता पनि घर छ । घर र गाडीको महिनावारी किस्ता तिर्नुपर्छ । फिलिपिनो केटी राखेको छु घरमा । कति दिन बस्छे भर त छैन । छोडे पनि केही छैन । मैले पनि गर्लफ्रेन्ड बनाइसकेको छु । यता बस्न त मिल्दैन आमा” भनेको सुनेर आमाको मन छिया छिया भयो । सुइय गर्दै लामो सास फेरिन् । “हामीलाई माया मार्छौ त बाबु” भन्दै उदास अनुहार लगाउँदै पीडा पोखिन् ।

अलिबेरको मौनतापछि छोराको झोला नियाल्दै “यतिका वर्ष अमेरिका बसेर के सिक्यौत बाबु ? यतिका वर्षपछि आयौ । बाआमालाई कोसेली त केही पक्कै ल्याएका छौ होला ? भन्दै हाँसिलो अनुहारले छोराको अनुहारतिर आँखा पोखिन् ।

छोरोले सहज ढङ्गले “हतारमा हिँडेँ । किनमेल गर्ने फुर्सदै भएन । यहाँ जस्तो सजिलो कहाँ छ र ? काममा नजोतिएसम्म महिनावारी चल्दैन । एक हप्ताको फुर्सद लिएर आएको छु । एक हप्तामा जानु छ । साथीहरू होटलमा छन् । उनीहरूलाई भोलि बिहानै पोखरा घुमाउन लैजानु छ । आज यता बसेर गफ गर्ने फुर्सद भएन । बा कता हुनुहुन्छ भेट भएन । अनुकुल मिले पोखराबाट फर्किंदा बस्ने गरी आउँला” भन्दै छोरोे झोला टिपेर निस्के ।

आमा पछिपछि ढोकामा आएर परसम्म हेरिरहिन् । आँखा रसाए । गुन्युको फुर्कोले आँसु पुछिन् । कोठामा फर्केर थचक्क बसिन् । छोराछोरीको चालचलन देखेर हैरान भइन् । आफ्नो घरको राजा हुनुभन्दा पराइको चाकर हुन मनपराउने जमाना आएछ भन्दै चिन्तित भइन् । देशै बिर्सेर जाने कपुत जन्माउनुभन्दा कोखै बाँझो रहेको जाति भन्दै आमाले बाहिरसम्म हेरेर टोलाइरहिन् ।