• १ भदौ २०८२, आइतबार

सत्य, शान्ति र न्यायको मार्गमा अग्रसरता आवश्यक : उपराष्ट्रपति यादव

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवम् प्रवचन’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : उपराष्ट्रसितको सचिवालय

काठमाडौँ, साउन ३१ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपालीलाई सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गर्नुभएको छ ।  

काठमाडौँको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा शनिबार आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवम् प्रवचन’ कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त आग्रह गर्नुभएको हो ।

उहाँले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा समेत रहेको बताउनुभयो । श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गर्नुभयो, जसले देखाउँछ-नेतृत्व शक्ति मात्र होइन, सेवा पनि हो ।’’


श्रीकृष्णको जीवनकथा सङ्गीत, नृत्य, चित्रकला र साहित्यमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले श्रीकृष्णको बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकका रूपमा व्याख्या गर्नुभयो । उहाँले श्रीकृष्णलाई सत्य, प्रेम, करुणा र दायित्वबोधका प्रतिबिम्बका रूपमा चित्रण गर्दै उहाँको जीवनले व्यवहारमा उतार्नुपर्ने नैतिक मूल्यहरू बोकेको बताउनुभयो ।

‘‘श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ,’’ उहाँले भन्नुभयो, ‘‘यी सूत्रहरू आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।’’ उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनाकालदेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।