• १७ असार २०८१, सोमबार

घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ । 

‘खोजौँ नेपाली, रोजौँ नेपाली’ भन्ने मूल नाराका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घले संयुक्त रूपमा तयार गरेको ई–कमर्स वेबसाइट एमएसएमई डटकमको बिहीबार राजधानीमा शुभारम्भ गर्दै उहाँले सरकारले उत्पादन र निर्यात बढाउने नीति लिएको बताउनुभयो ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र भएको र त्यसमा घरेलु तथा साना उद्योग मुलुकको मेरुदण्ड भएको उहाँले बताउनुभयो ।घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा रहेको भन्दै उहाँले मुलुकलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि छलफल गर्न तयार रहेको उहाँले बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान ई–कमर्स वेबसाइट सञ्चालनमा ल्याइएकामा खुसी व्यक्त गर्दै मन्त्री बडूले भन्नुभयो, “ई–कमर्समार्फत स्वदेशी वस्तुको प्रवद्र्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो ।”

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग आर्थिक समृद्धिको संवाहकका रूपमा रहे पनि यस्ता उद्योगको प्रमुख समस्याका रूपमा बजार पहुँच रहेको बताउनुभयो । “हाम्रा उत्पादन गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रूपमा हाम्रा उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार विस्तार हुन सकेको छैन । फलस्वरूप हाम्रा उत्पादन स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन्,” उहाँले भन्नुभयो ।

महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योग स्वभावैले ठूला बजारसम्म पुग्न नसकेको परिप्रेक्ष्यमा यसबाट स्थानीयस्तरमा रहेका उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यो क्षेत्रको उचित प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्ण अधिकारी, फेडेरेसन अफ एक्स्पोर्ट एसोसिएसन नेपालका अध्यक्ष पवनकुमार गोल्यानलगायतले सञ्चालित ई–कमर्स साइटको सफलताका लागि शुभकामना दिँदै सहकार्यका लागि पनि तयार रहेको बताउनुभएको थियो ।