• ७ जेठ २०८१, सोमबार

बीएमसी र नोबेल मेडिकल कलेजले बीमा कार्यक्रम बन्द गर्ने

blog

काठमाडौं, असार ८ गते । पूर्वका दुई मेडिकल कलेजले पनि बीमा कार्यक्रम असार २० गतेबाट बन्द गर्ने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले बीमाको रकम नपाएको भन्दै असार २० गतेबाट बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् ।

बीमा गरेका बिरामी अस्पतालमा आएर उपचार गरेबापत सरकारले दिनुपर्ने बीमा बापतको करोडौं रकम नपाएको कलेज सञ्चालकको गुनासो छ । 

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सरकारले स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका बिरामीलाई उपचार गरेबापत बीएण्डसीलाई ४५ करोडभन्दा बढी रकम दिन बाँकी रहेको बताउनुभयो ।

स्वास्थ्य बीमा योजनामा बीएण्डसी मेडिकल कलेज विगत दुई वर्षदेखि जोडिएर बिरामीलाई सेवा दिए पनि मङ्सिरदेखि रकम नपाएको प्रसाईंको गुनासो छ ।

स्वास्थ्य बीमा कार्यक्रममा जोडिएर बीएण्डसी कलेजले दैनिक एक हजारजना बीमा गरेका बिरामी अस्पताल आउने प्रसाईंको दाबी छ ।

झापा जिल्लामा मात्रै करिब सात लाख हाराहारी स्वास्थ्य बीमा कार्यक्रममा जोडिएको प्रसाईंको भनाइ छ । 

यसैगरी, नोबेल मेडिकल कलेजलाई ५४ करोड ३८ लाख रुपियाँ रकम दिन बाँकी रहेको कलेजका व्यवस्थापकका सदस्य भीम चन्द्रले जानकारी दिनुभयो ।

समयमै भुक्तानी नपाउँदा अस्पतालका कर्मचारीलाई तलब दिनसम्म समस्यामा परेको नोबेल मेडिकल कलेजका व्यवस्थापक चन्दको भनाइ छ ।

उहाँले भन्नुभयो, “सुरुवाती चरणदेखि हामीले १५ देखि १८ सयजना बिरामीको उपचार गर्दै आएका छौँ । सरकारसँग सम्झौता गर्दा बीमा कार्यक्रममा जोडिएका बिरामीको उपचार बापतको रकम १५ दिनभित्र पाउने व्यवस्था थियो तर मङ्सिरदेखि बीमा बोर्डले करोडौं  रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब दिन समस्यामा परेको छ ।”

यसअघि त्रिबि शिक्षण अस्पतालले बीमा बोर्डले उपचार गरेको पैसा भुक्तानी नदिएको भन्दै असार १५ बाट बीमा कार्यक्रम बन्द गर्ने घोषण गरेको थियो ।

सरकारले पाँच वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो ।

सरकारले एउटा परिवारले तीन हजार पाँच सय रुपियाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको पाँचजना सदस्यको बीमाको सेवा लिन पाउने व्यवस्था छ । हाल देशभरका ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ ।