• १५ वैशाख २०८१, शनिबार

माैलिक घर संरक्षणमा बन्दीपुर (फाेटाे फिचरसहित)

blog

बन्दीपुरमा रहेको मौलिक घरहरु । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की  

तनहुँ,  असार ८ गते । तनहुँको बन्दीपुरले परम्परागत घरको नमुना सहरको रुपमा प्रख्याति कमाएको छ । यही प्रख्यातीलाई जोगाई राख्न बन्दीपुर गाउँपालिकाले मौलिक घरलाई संरक्षण गरेको । आधुनिक घरले मौलिकता गुमाउने हुँदा आधुनिक घर निर्माणमा प्रतिबन्ध गरी संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ । 

बन्दीपुरका परम्परागत घरहरुमा काठका बुट्टा भएका झ्याल, ढोका, तथा बरण्डाहरु, इँट्टा बाहिर देखिने प्यागोडा शैलीका घरहरुले बन्दीपुर मुख्य आकर्षण छ । १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवाः समुदायले नेवारी शैलीका घर र ढुङ्गा बिच्छाइएको बाटो निर्माण गरेका थिए ।

बन्दीपुरमा घर बनाउनेले सटर तथा च्यानलगेट राख्ने, आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । फर्निचर व्यवसायीको सालको काठ महङ्गो भएको सामुदायिक वनसँग सहकार्य गरी सर्वसुलभदरमा खरिद गर्ने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताउनुभयो ।


‘मौलिक घर बनाउनेको लागि सामुदायिक वनबाट काठ खरिदको लागि गाउँपालिकाले पत्र लेखी पाँच गुणा सस्तोमा काठ खरिदको व्यवस्था मिलाएका छौँ’ अध्यक्ष थापाले भन्नुभयो । च्यानलगेट राख्ने, सटर राख्ने जस्ता नियम विपरीत घर बनाउनेलाई नक्सापास रोकिदिने गरिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीयस्थल भएकाले मौलिक घरले व्यवसाय वृद्धि गर्न मद्दत पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदको लागि व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम बढेको छ । यहाँ करोडौंको लगानीमा ठुल्ठूला रिर्सोट बन्ने क्रम बढिरहेको छ । काठमाडौं घर भई हाल बन्दीपुरमा पर्यटन व्यवसाय गर्नुभएका विकास श्रेष्ठले काठमाडौंबाटै आँखीझ्याल, बुट्टाद्धार ढोका झिकाएर करिव १८ करोडको लगानीमा नयाँ रिर्सोट बनाइरहनुभएको छ ।


थप पूर्वाधारको काम भइरहेपछि होटल सुचारु गरिसक्नु भएको छ । बन्दीपुरको पहिचानको संरक्षणमा टेवा पु¥याउनको लागि महङ्गो भए पनि मौलिक घर बनाएको श्रेष्ठ बताउनुहुन्छ । बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँ बन्दीपुरको गहनाको रुपमा रहेको परम्परागत घरको सहरलाई कायम राख्न गाउँपालिकाले सहुलियत दरको काठको अभाव हुन नदिनुपर्ने बताउनुहुन्छ ।

काठ महङ्गोमा खरिद गर्नुपर्ने बाध्यता हटाउन बन्दीपुर गाउँपालिका भित्र रहेका सामुदायिक वनलाई गाउँपालिकाको मागलाई पूरा भएपछि मात्रै निर्यात गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव बानियाँ दिनुहुन्छ । 

नेवाः समुदायले युगौंदेखि बन्दीपुरलाई भारतको विभिन्न सहर हुँदै तिब्बतसम्मको मुख्य व्यापारिक केन्द्रको रुपमा विकास गरेका थिए । पृथ्वी राजमार्गले बन्दीपुर बजारलाई छोडेर डुम्रेको बाटो हुँदै जानु, २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरलाई दमौलीमा स्थानान्तरण गर्नु जस्ता कारणले बन्दीपुर सुनसान बन्न पुगेको थियो । 


समाजसेवी तथा पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठको करोडौंको लगानीमा सञ्चालनमा आएको एक रिर्सोटका कारणले पनि पर्यटनमा टेवा पुगेको छ । श्रेष्ठकै प्रमुख लगानीमा बन्दीपुरको पर्यटन विकासको लागि रेडियो बन्दीपुर सञ्चालनमा ल्याइएको छ ।

बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्णा, माछापुच्छ्रे, मनास्लु, बुद्धहिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौं चुचुरा आकर्षक रुपमा देखिन्छन् । 


प्रमुख आर्कषणका रुपमा मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा बिच्छाइएका बाटाहरु, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, प्याराग्लाइडिङ आदि रहेका छन् ।

बन्दीपुरबाट आधा घण्टा ओरालोमा एसियाकै ठूलो मानिने सिद्ध गुफा अवलोकन, मर्स्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्याङ आरोहण र मनोरम दृश्यले पर्यटकहरु आकर्षित हुने गदर्छन् ।