• २९ कात्तिक २०८२, शनिबार

विदेशभन्दा दोब्बर कमाइ गाउँमै

blog

अमरराज नहर्की
तनहुँ, कात्तिक २९ गते ।
व्यास नगरपालिका–१, रतौलीका अर्जुन बस्नेत १७ वर्षसम्म दुबईमा पसिना बगाए पनि आफूले खोजेको स्थिरता र आत्मसन्तुष्टि विदेशमा पाउन सक्नु भएन । पाँच वर्षअघि गाउँ फर्किएपछि कृषि व्यवसायमा लागेर उहाँले न केवल नयाँ पहिचान बनाउनुभयो । विदेशमा पाएका आम्दानीभन्दा दोब्बर कमाइ गाउँमै गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गर्न सफल हुनुभयो ।

बस्नेतले सञ्चालन गर्दै आउनुभएको बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्ममा हाल दुई हजार लेयर्ड कुखुरा छन् । करिब २५ लाख रुपियाँको लगानीमा ६ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यवसायिक रूपमा कुखुरापालन अगाडि बढाउँदै आउनुभएको छ । दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख रुपियाँभन्दा बढिको बिक्री हुन्छ । दाना, औषधी तथा श्रम खर्च कटाएर एक लाख रुपियाँभन्दा बढि शुद्ध आम्दानी हात पर्न थालेपछि बस्नेत भन्नुहुन्छ, “दुबईमा महिनामा ६० हजार आउँथ्यो, अहिले गाउँमै बस्दा त्योभन्दा दोब्बर फाइदा भइरहेको छ ।”

कुखुरा व्यवसायबाट उत्पादन हुने ठुला दाना (क्रेड) स्थानीय बजारमा प्रति थान पाँच सय रुपियाँमा बिक्री हुँदै आएका छन् । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइ राख्न सरकारले दाना उत्पादनमा प्रत्यक्ष अनुदान दिनुपर्नेमा बस्नेतको जोड छ । “पूर्वाधारमा मात्र अनुदान दिएर काम हुँदैन । दानामा सहयोग भयो भने किसान टिकाउ हुन्छन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ,” उहाँको तर्क छ ।

उहाँका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौँदेखि बाँझो रहेको जमिनको सदुपयोग मात्र नभई खेतीपातीमै समेत उल्लेख्य सुधार आएको छ । श्रीमती मधुमाया बस्नेतको निरन्तर साथमा फार्म चलाउनुभएका अर्जुन भन्नुहुन्छ, “कुखुराको मल प्रयोग गरेदेखि तोरी यति राम्रो फलेको छ कि तेल किन्नु परेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।”

व्यास नगरपालिकाले इनार निर्माणका लागि २५ हजार र कुखुरा खरिदका लागि ५० हजार गरी ७५ हजार रुपियाँको सहयोग गरेको छ । चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ । दुबईबाट फर्किएर ‘सामान्य किसान’को रूपमा थालेको यात्रा आज बस्नेतलाई सफल व्यावसायिक कृषकका रूपमा उभ्याइरहेको स्थानीय सूर्य कार्की क्षत्रीले बताउनुभयो ।

विदेशमै भविष्य खोज्नुपर्ने बाध्यता हटाउँदै गाउँमै बसेर स्थिर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश बस्नेतको सफलताले दिएको कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘‘गरे नहुने केहि छैन हामी त आफ्नो ठाउँमा गर्न लाज मान्छौ त्यही भएर खेतबारी बाँझो घर खाली गाँउ खाली युवा जति खाडी ।’’ तनहुँको रतौलीबाट उठेको यो उदाहरण स्थानीय सरकारको सहयोग, परिवारको साथ र किसानको लगनले विदेशभन्दा दोब्बर कमाइ गाउँमै सम्भव हुन्छ भन्ने प्रमाण बनेको विकास अधिकारी बताउनुहुन्छ ।