• २० कात्तिक २०८१, मङ्गलबार

चैते धानले बनाउँछ आत्मनिर्भर

blog

काठमाडौँ, असार ७ गते । धानको उत्पादन वृद्धि गर्न सरकारले चैते धान उत्पादनमा जोड दिएको छ । मुलुकभर हाल करिब एक लाख ५० हजार हेक्टरमा धानखेती हुँदै आएको छ । चैते धान खेती गर्ने क्षेत्रलाई तीन लाख हेक्टरसम्म विस्तार गर्दा मुलुक धानमा आत्मनिर्भर हुने विज्ञहरूको आकलन छ । 

वर्षे धानभन्दा चैते धानको उत्पादन धेरै भएकाले धान उत्पादनमा वृद्धि र आत्मनिर्भर हुन चैते धान खेतीमा लगानी बढाउनुपर्ने सुझाव राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथ (धनुषा)का वरिष्ठ धान वैज्ञानिक सुशीलराज सुवेदीको छ । उहाँका अनुसार वर्षे धानको उत्पादकत्व प्रतिहेक्टर सरदर साढे तीन मेट्रिक टनले हुने गरेको छ भने चैते धानको सरदर चार मेट्रिक टन छ । 

आव २०७७/७८ मा धानको कुल उत्पादन ५१ लाख ३० हजार ६०४ मेट्रिक टन थियो । “धानमा आत्मनिर्भर हुन १६ लाख मेट्रिक टन अपुग छ, तीन लाख हेक्टरमा चैते धान विस्तार गरियो भने अपुग धान पूर्ति हुन्छ,” धान वैज्ञानिक सुशीलराज सुवेदीले भन्नुभयो । तीन लाख हेक्टरमा १२ लाखदेखि १५ लाख मेट्रिक टन चैते धान उत्पादन हुन्छ । 

चैते धान विस्तारका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेती विकास र विस्तारका लागि महŒव दिँदै आएको छ । यो परियोजनाअन्तर्गत ५७ हजार हेक्टरमा धानखेती हुने गरेकामा सात हजार हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठले चैते धानको खेती बर्सेनि विस्तार हुँदै गइरहेको बताउनुभयो । चैते धानका लागि पनि कृषि मन्त्रालयले बीउ, सिँचाइ, कस्टम हाइरिङ सेन्टर (कृषि मेसिन औजार भाडामा लगाउने)लगायत विभिन्न प्रविधिमा सहयोग गर्दै आइरहेका कारण चैते धान खेतीप्रति किसानको आकर्षण बढेको उहाँले बताउनुभयो ।

अहिले प्रदेश सरकार र स्थानीय सरकारले पनि चैते धानमा लगानी गर्न थालेका छन् । वर्षे धानभन्दा यसमा मेहनत र लगानी कम लाग्नुका साथै छिट्टै पाक्ने भएकाले यो खेती किसानको रोजाइमा परेको धान वैज्ञानिक सुवेदीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत पनि चैते धान खेतीलाई सहकारी संस्था वा अन्य कुनै किसान समूहमा जोडेर विस्तार गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत धान सुपरजोन, जोन, ब्लक, पाकेट कार्यक्रमले पनि चैते धान विस्तारमा जोड दिएको छ । चैते धान खेती विस्तारका लागि कृषिमा चक्लाबन्दीको अवधारणाले पनि टेवा पुगिरहेको उहाँले बताउनुभयो । 

कृषि अनुसन्धान परिषद् (नार्क)ले चैते धानसम्बन्धी अध्ययन २०७४ सालदेखि थालेको हो । २०७४ सालमा नार्कले चैतमा किसानलाई समुद्र सतहदेखि ७५० मिटरसम्म चैते–५ जातको धान लगाउन सिफारिस गरेको थियो । त्यही बेलादेखि चैते धानमा सरकारले लगानी गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

चैते–५ जातको धानको दाना मसिनो, धेरै फल्ने, रोग र कीरा कम लाग्ने भनेर प्रमाणित गरेपछि किसानले यो धान लगाउन सुरु गरेका थिए । अहिले कीरा कम लाग्ने, मोटो दाना भएको चैते–४ जातको धान पनि आइसकेको छ । यो जातलाई पनि किसानले मन पराउन थालेका छन् । 

बाह्रै महिना सिँचाइ सुविधा हुने केही ठाउँमा मात्र चैते धान लगाउने गरिएकामा अहिले नार्कले निकालेका नयाँनयाँ जात कम सिँचाइ हुने ठाउँमा पनि लगाउन थालिएको छ । हाल हर्दिनाथ–१, चैते–३, चैते–२, चैते–४, चैते–५, चैते–६ जातका धान लगाउने गरेको छ । अझै पनि मसिनो र छिटो पाक्ने जात कम छन् । हाल उपलब्ध चैते धानका धेरैजसो जात मोटा भएकाले किसान र उपभोक्तामाझ त्यति लोकप्रिय हुन सकेको छैन । यसलाई चिउराका रूपमा बढी प्रयोग गरेको पाइएको छ ।