सिराज खान
नेपालगन्ज, साउन ७ गते । बाँकेमा प्रदेश र सङ्घीय सरकारको गरी गत आर्थिक वर्ष २०८१/०८२ मा तीन अर्ब २५ करोड रुपियाँभन्दा बढीको बजेट फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले दिनुभएको जानकारी अनुसार सङ्घीय र प्रदेश सरकारबाट जिल्लामा आएको २५ अर्ब ६५ करोड ६१ लाख ४६ हजार ६१६ रुपियाँको बजेटमध्ये २२ अर्ब ४० करोड ३० लाख ८० हजार ६६८ रुपियाँ खर्च भएको छ ।
यसरी जिल्लामा तीन अर्ब २५ करोड ९७ लाख पाँच हजार ९४८ रुपियाँ खर्च हुन नसकेर फ्रिज भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लाका लागि सङ्घीय सरकारबाट आएको २२ अर्ब पाँच करोड ५० लाख नौ हजार ७४१ रुपियाँमध्ये १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २९८ रुपियाँ खर्च भएको छ भने प्रदेश सरकारबाट आएको तीन अर्ब ६० करोड ११ लाख ३६ हजार ८७५ रुपियाँमध्ये दुई अर्ब ५० करोड ८७ लाख ४० हजार ३७० रुपियाँ खर्च भएको छ ।
फ्रिज भएको बजेटमध्ये संघको दुई अर्ब १६ करोड छ लाख ६९ हजार ४४३ रुपियाँ रहेको र प्रदेश सरकारको एक अर्ब नौ करोड २३ लाख छ हजार ५०५ रुपियाँ रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार सङ्घीय सरकारबाट आएको बजेट मध्ये सबैभन्दा कम खर्च गर्ने र सबैभन्दा बढी बजेट फ्रिज गर्नेमा सङ्घीय योजना कार्यालय बाँके रहेको छ । सो कार्यालयले ४७ करोड आठ लाख ८२ हजार ८१० रुपियाँ फ्रिज गरेको छ । उक्त कार्यालयले ५५ प्रतिशत बजेट फ्रिज गरेको हो ।
सोही प्रकारले डिभिजन सडक कार्यालय नेपालगन्जले ३७ करोड ८७ लाख ४० हजार २२ रुपियाँ फ्रिज गरेको छ भने सिक्टा सिँचाइ आयोजनाले १६ करोड ७९ लाख ९३ हजार ९३७ रुपियाँ फ्रिज गरेको छ । यस्तै पुल योजना पश्चिम सेक्टर कार्यालय बाँकेले १० करोड ५२ लाख सात हजार १८ रुपियाँ फ्रिज गरेको छ ।
यसैगरी, प्रदेशतर्फका कार्यालयहरु मध्येबाट सबैभन्दा कम खर्च गरेर सबैभन्दा बढी बजेट फ्रिज गर्ने कार्यालय सडक पूर्वाधार विकास कार्यालय बनेको छ । सो कार्यालयले २८ करोड ७४ लाख १४ हजार ८७५ रुपियाँ फ्रिज गरेको छ । सोही प्रकारले सहरी विकास तथा भवन कार्यालयले १४ करोड २२ लाख १४ हजार २०६ रुपियाँ फ्रिज गरेको छ भने सामाजिक विकास डिभिजन कार्यालय बाँकेले १० करोड ११ लाख ५४ हजार ३९ रुपियाँ फ्रिज गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका अनुसार जिल्लामा संघतर्फको कूल बजेटको ९० दसमलव २० प्रतिशत खर्च भएकोमा चालुतर्फ ९३ दशमलव ६५ र पुँजीगततर्फ ८५ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको छ ।
सोही प्रकारले प्रदेशतर्फको कूल बजेटको ६९ दसमलव ६७ प्रतिशत खर्च भएकोमा चालुतर्फ ७७ दशमलव ५० र पुँजीगततर्फ ६५ दशमलव ६६ प्रतिशत बजेट खर्च भएको छ ।