काठमाडौँ, साउन ७ गते । साहित्य एकेडेमी नेपालसँगको सहकार्यमा नेपालका लागि पाकिस्तानी दूतावासले मङ्गलबार उर्दु सायरी सङ्गोष्ठीको आयोजना गर्यो ।
‘आलमी मुशैरास उर्दु, शायरी की जुबान’ शीर्षकको साहित्यिक कार्यक्रममा सांसदहरू सिराज अहमद फारुकी कल्पना मियाको विशेष उपस्थिति रहेको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
पाकिस्तान र नेपालबिचको साहित्यिक सम्बन्धलाई उजागर गर्ने र विशेष गरी सांस्कृतिक क्षेत्रमा मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने उद्देश्य रहेको कार्यक्रममा राजनीतिज्ञ, बुद्धिजीवी, सामाजिक अभियन्ताका साथै पाकिस्तानी दूतावासका अधिकारीहरूसहित उर्दू उत्साहीहरूको उपस्थिति थियो ।
प्रसिद्ध उर्दू कविहरू डा. जफर एलिग, साहित्य एकेडेमी, नेपालका अध्यक्ष डा. साकिब हारुनी, डा. अफजल मङ्गलोरी, फुरकान फैजी, मुसरफ अली खान, जाहिद आजाद झन्डा नगरी, गालिब दरिब, अल्ताफ फरिफ्ता रसपना अहसासले आफ्ना काव्यात्मक कथा वाचन गर्नुभएको थियो ।
अतिथिहरूले संस्कृति र कलाको प्रवर्धन र नेपालमा यसको प्रदर्शनमा पाकिस्तान सरकारको प्रयासको र उर्दु कविहरूलाई एकसाथ ल्याउने र उर्दु भाषाको प्रवर्धन गरेकोमा पाकिस्तान दूतावासको प्रशंसा गरेका थिए ।
नेपाली चलचित्र निर्देशक र लेखक प्रकाश सायमीले उर्दु भाषाको विश्वव्यापकता र बहुमुखी प्रतिभा, विशेष गरी उर्दु कविताको गहिराइबारे प्रकाश पार्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हास्मीले साहित्य एकेडेमी, नेपालका साथै व्यक्तिगत कविहरूलाई उर्दु भाषामा उनीहरूले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र पाकिस्तानका साहित्यिक संस्थाहरू बिचको सहयोगलाई गहन बनाउने, विशेष गरी साहित्य आदानप्रदान र उर्दु र नेपाली जस्ता भाषाको प्रवर्धनको महत्त्वमाथि पनि प्रकाश पार्नुभयो ।