• ४ साउन २०८२, आइतबार

राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको दशकमा दस प्रतिशतभन्दा कम प्रगति

blog

 काठमाडौँ, साउन ४ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको १० वर्षमा १० प्रतिशत काम पनि हुन सकेको छैन । 

२०७१ सालमा तत्कालीन मन्त्रीपरिषद्को बैठकले सूर्यविनायक क्षेत्रको २४५ हेक्टर वनक्षेत्रमा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । २०७३ सालमा तत्कालीन एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्राणी उद्यानको शिलान्यास गर्नुभएको थियो । सूर्यविनायक नगरपालिका–६ स्थित कटुन्जेमा प्राणी उद्यानको प्रशासनिक भवन निर्माण र उद्यान क्षेत्रमा तारबार लगाउनेबाहेक अन्य भौतिक काम भएको छैन । 

राष्ट्रिय प्राणी उद्यानका निर्देशक राजु घिमिरेले बजेटका अभावमा उद्यान निर्माण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले हामीलाई कार्यक्रम बनाएर काम गर्नु भनेपछि हामीले काम गर्ने हो तर अहिले सबै काम सुस्त भएकाले सरकारको प्राथमिकतामा नपरे जस्तो देखिन्छ । यसअगाडि दिँदै आएको बजेट पनि अहिले कटौती हुँदै आएको छ ।”   

उद्यान निर्माणका लागि नगरी नहुने संरचना निर्माण गर्न मात्र करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान सरकारको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गुरुयोजनाको मसौदा बनाएर वन मन्त्रालयमा पठाएको छ । प्राणी उद्यान क्षेत्रको भौतिक पूर्वाधार सडक, आवासीय रेस्टुरेन्ट निर्माण, रानीकोटडाँडासम्म आवतजावत गर्न सकिने गरी केबुलकार निर्माण गर्ने प्रस्तावित गुरुयोजनामा उल्लेख गरिएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले करिब १० देखि १५ अर्ब रुपियाँको महत्वाकाङ्क्षी बजेट लाग्ने र एकै पटक उक्त बजेट जुटाउन सम्भव नभएकाले अहिले प्राणी उद्यान निर्माण सरकारको प्राथमिकतामा नपरेको हुन सक्ने बताउनुभयो ।

प्राणी उद्यान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थाका लागि सरकार, दातृ निकाय, अन्तर्राष्ट्रिय चिडियाखानालगायतका निकायले लगानी गर्न सक्ने सम्भावनाबारे वैकल्पिक उपायको खोजी गर्ने तयारी भइरहेको प्राणी उद्यानले जनाएको छ । 

कँडेलका अनुसार उद्यानमा सङ्कटापन्न जनावरसमेत ल्याएर राखेपछि ती जनावरको संरक्षण हुने र पर्यापर्यटनको विकास भई पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने छ । 

नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ । उद्यान निर्माण सम्पन्न भएपछि सरकारको ठुलो स्केलमा राजस्व सङ्कलन हुने आधार निर्माण हुने उहाँले स्पष्ट पार्नुभयो । 

छैन स्थानीयको चासो  

सूर्यविनायक नगरपालिका–६ स्थित साबिकका (कटुन्जे, गुन्डु, सिपाडोल) क्षेत्रका २४५ हेक्टर वनक्षेत्रको जमिनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको यो उद्यान निर्माणका लागि स्थानीय तहबाट चासो र पहल भएको छैन ।

सूर्यविनायक नगरपालिकाका–६ का वडाध्यक्ष ईश्वर खड्काले नगरपालिकाले वनमन्त्रीलाई भेटेर प्राणी उद्यान निर्माण कार्य छिटो अगाडि बढाउन आग्रह गरेको दाबी गर्नुभयो । उहाँले त्यस्तो दाबी गरे पनि व्यवहारमा भने परिणाम देखिएको छैन ।