• १७ असार २०८१, सोमबार

नारायणी नदीमा अब ‘सिग्नेचर पुल’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते ।  चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । 

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिनुभयो । सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी ‘सिग्नेचर पुल’ निर्माण गर्न लागिएको छ । सो काम ‘डिजाइन एन्ड विल्ड’ निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरिने भएको छ ।

२०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको थियो । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्देशक थापाले बताउनुभयो । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

पुलको सतहमाथि आकाशतिर घुमेको संरचनामा स्थानीय ठाउँको परिचय झल्कने आर्क डिजाइन गरी निर्माण हुने यस किसिमका पुललाई ‘सिग्नेचर ब्रिज’ भन्ने गरिन्छ । मानिसलाई उसको सिग्नेचरले जसरी चिनाउँछ त्यसैगरी सिग्नेचर पुल पनि सम्बन्धित ठाउँको परिचय दिने गरी बनाइने विभागका महानिर्देशक थापा बताउनुहुन्छ । 

पर्यटकीय दृष्टिकोणले समेत अन्य सामान्य पुलभन्दा ‘सिग्नेचर पुल’ को डिजाइन फरक तथा आकर्षक हुने गर्दछ । यो पुलमा सामान्य पुलमा राखिनेभन्दा दोब्बर फराकिलो फुटपाथ राख्ने डिजाइन गरिएको विभागले जनाएको छ ।