गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २६ गते । नेपाल भाषा मंकाः खलः, यलले ललितपुरका पौराणिक, ऐतिहासिक तथा मौलिक मखुन्डो नाचको संरक्षणमा समर्पित देवगण संस्थालाई ताम्रपत्र र नगदसहित सम्मान गर्दै दुई महत्वपूर्ण कृतिको विमोचन गरेको छ । ताम्राकार समाजद्वारा आयोजित कार्यक्रममा सदियौँदेखि जीवित रहेको मखुन्डो नाच परम्पराका संरक्षक संस्थाहरू श्री हरिसिद्धि त्रिशक्ति भवानी, श्री नवदुर्गा गुठी, श्री रुद्रायणी गुठी, श्री कार्तिकनाच संरक्षण समिति तथा गं प्याखँ प्रबन्ध समितिलाई १० हजार रुपियाँका साथ ताम्रपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
नेपाल भाषा मंकाः खलः, यलले ललितपुरका पाँच प्रमुख मखुन्डो नाच–जल प्याखँ (श्री हरिसिद्धि नाच), गथु प्याखँ (श्री नवदुर्गा नाच), सिकाली प्याखँ (श्री रुद्रायणी नाच), गं प्याखँ (श्री अष्टमातृका नाच) र काति प्याखँ (श्री कार्तिक नाच) का संरक्षकलाई सम्मान समर्पित गरेको हो ।
कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देवगण संस्थालाई सम्मान गर्नुभयो । सोही अवसरमा उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन मानिकरत्न शाक्यद्वारा लिखित ‘ललितपुरका प्रसिद्ध मखुन्डो नाचहरू’ नामक पुस्तकको विमोचन गर्नुभयो ।