काठमाडौँ, असार २१ गते । नेवारी संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको फाल्चा (पाटी) को निर्माण अहिले उपत्यकाका पालिकाको प्राथमिकतामा परेको छ ।
काठमाडौँ महानगरपालिकाले यसलाई गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ भने ललितपुर र भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण केन्द्र नै स्थापना गरी निर्माणमा जुटेका छन् ।
यी पालिकाले फाल्चाको निर्माण, पुनर्निर्माण तथा जीर्णोद्धारलाई तीव्रता दिएका छन् । सांस्कृतिक सम्पदाको संरक्षण तथा बटुवाले थकाइ लागेका बेला विश्राम र पानी परेका बेला ओत लाग्न पाऊन् भन्ने उद्देश्यसहित यहाँका पालिकाले फाल्चा निर्माणलाई तीव्रता दिएका हुन् । भजनकीर्तन गाउन, बुढापाकाले दिउँसो आराम तथा भलाकुसारी गर्नसमेत फाल्चाको प्रयोग हुँदै आएको छ ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले महानगरका विभिन्न ठाउँमा १० वटा बस बिसौनी (स्टप) फाल्चाको निर्माण सम्पन्न हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको गौरवको आयोजना अन्तर्गत कलङ्कीमा दुई, बबरमहलमा एक, बानेश्वरमा दुई, तीनकुनेमा दुई र कोटेश्वरमा तीन वटा निर्माणाधीन फाल्चाको काम अन्तिम चरणमा छ । यी फाल्चाको रङरोगन र बेन्च राख्ने काम भइरहेको छ । उहाँले थप २२ वटा फाल्चा निर्माणका लागि आवश्यक प्रव्रिmया सुरु भइसकेको जानकारी दिनुभयो ।
राईले भन्नुभयो, “थप २२ वटा फाल्चा निर्माणका लागि आठ करोड रुपियाँ बराबरको बोलपत्र आह्वान गरिएको छ । सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा कलङ्की, कोटेश्वर, चाबहिल क्षेत्रमा ती फाल्चा निर्माण गर्न लागिएको हो ।”
उहाँका अनुसार यसअघि रहेका जस्तापाता, सिसा, विभिन्न विज्ञापन राखेर बनाइएका डिजिटल बस स्टप फाल्चालाई हटाएर परम्परागत शैलीमा नयाँ फाल्चा निर्माण भइरहेको हो । उहाँले परम्परागत सिपलाई पुनस्र्थापना गर्ने उद्देश्यले समेत यी फाल्चाको निर्माण गर्न लागिएको जानकारी दिनुभयो । महानगरका विभिन्न वडाबाट फाल्चा निर्माणको अत्यधिक माग रहेको राईको भनाइ छ ।
ललितपुर महानगरपालिका सम्पदा संरक्षण केन्द्रका वरिष्ठ अधिकृत सबिना महर्जनले अहिले महानगरपालिकाभित्र (हरिसिद्धि, खोकना र सुनाकोठीबाहेक) २५४ वटा फाल्चा रहेको जानकारी दिनुभयो । उहाँले हरिसिद्धि, खोकना र सुनाकोठीमा रहेका फाल्चाको तथ्याङ्क सङ्कलनका व्रmममा रहेको स्पष्ट पार्नुभयो । अहिले महानगरपालिका अन्तर्गत ३१ वटा फाल्चा पुनर्निर्माण तथा जीर्णोद्धारको काम भइरहेकोमा १० वटाको काम सम्पन्न भइसकेको र बाँकी २१ वटाको काम अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
ललितपुर महानगरभित्र १५ लाखदेखि एक करोड ८० लाख रुपियाँसम्मको लागतमा विभिन्न शैली र ढाँचाका फाल्चा निर्माण भइरहेको जानकारी दिँदै वरिष्ठ अधिकृत महर्जनले जनश्रमदान भएका ठाउँमा १५ लाख रुपियाँसम्मको लागतमा फाल्चा निर्माण हुने गरेको बताउनुभयो । उहाँका अनुसार एक करोड ८० लाख रुपियाँको लागतमा ‘ललितापुर फाल्चा’ को पुनर्निर्माण भइरहेको छ । तीनमुखे झ्याल जडानसहित यस फाल्चाको पुनर्निर्माण भइरहेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले २०७४ देखि अहिलेसम्म ६२ वटा फाल्चा निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७४ देखि अहिलेसम्म नगरपालिका अन्तर्गत १७३ वटा सम्पदाको निर्माण सम्पन्न भइसकेको छ, जसमध्ये दुई वटा मठ, ३९ वटा मन्दिर, ६२ वटा फाल्चा र १२ वटा देवताघर छन् । यसका साथै अन्य सम्पदा पनि निर्माण
भएका छन् । उहाँले भन्नुभयो, “यस नगरपालिकाका हरेक वडाले सम्पदा निर्माण तथा संरक्षणका लागि एक आर्थिक वर्षमा कम्तीमा २० लाख रुपियाँ अनिवार्य रूपमा खर्च गर्नु पर्छ । नगरपालिकाले यस शीर्षकमा छुट्टै बजेट विनियोजन गर्दै आएको छ ।” चालु आव (२०८१/८२) मा वडा कार्यालयहरूबाट निर्माण सम्पन्न फाल्चाको तथ्याङ्क प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।