• १४ असार २०८२, शनिबार

दलितसम्बन्धी तथ्याङ्कमा असन्तुष्टि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४ गते ।  दलित समुदायको जनसङ्ख्या १ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क कार्यालय र दलित महिला सङ्घ (फेडो) ले शुक्रबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार हरेका १० वर्ष दलितको जनसङ्ख्या १ प्रतिशतले वृद्धि हुँदै आएको देखिन्छ तर दलित सङ्घ संस्थाले भने उक्त प्रतिवेदनमा असन्तुष्टि व्यक्त गरेका छन् ।   

२०५८ सालको जनगणनामा कुल जनसङ्ख्याको ११.० प्रतिशत दलितको जनसङ्ख्या थियो । जसमा पहाडी दलित ७.१ र तराई दलित ३.९ थिए । २०६८ को जनगणनामा दलितको जनसङ्ख्या १.५ प्रतिशतले वृद्धि भई १२.५ प्रतिशत देखिएको छ । २०७८ को जनगणनामा दलितको जनसङ्ख्या ३९ लाख ९८ हजार ९९० रहेको छ । यो कुल जनसङ्ख्याको १३.४ प्रतिशत हो, जसमा पहाडी दलित ८.६ र तराई दलित ४.८ प्रतिशत रहेको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले वञ्चितीकरणमा रहेकालाई मूलधारमा समावेश गर्ने गरी आयोगका नीति कार्यक्रममा समेटिएको बताउनुभयो । 

बालबालिकाको सङ्ख्या उच्च हुने तर जनसङ्ख्या भने कम देखिएपछि जनगणनामा समस्या हुन सक्ने शङ्का गरिएको छ । प्रतिनिधि सभाका सांसद सीता मिजारले भन्नुभयो, “जनगणना गर्दा दलितले गैरदलितसँग मिल्ने थर बताएपछि गैरदलितमा गणना हुन पुगेको छ । दलितले दलित हो भन्न नसक्दा पनि समस्या आएको छ । दलितमैत्री जनगणना हुन सकेको छैन, नत्र जन्मदर बढ्ने, जनसङ्ख्या घट्ने कसरी हुन्छ ?”  

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले भन्नुभयो, “सरकारी तथ्याङ्कमै दलित समुदाय गरिबी, अशिक्षा, बेरोजगार, अवसर, सम्पत्तिलगायतका सबै क्षेत्रमा पछाडि छन् । दलहरूले संविधान र घोषणापत्रमा लेख्छन् तर बजेट, नीति र कार्यक्रममा दलितका लागि केही पनि देख्दैनन् ।” दलित महिला सङ्घकी संस्थापक अध्यक्ष दुर्गा सोबले भन्नुभयो, “नेपालको जनगणनामा दलितको विश्लेषण गरेर ल्याइएको यो पहिलो प्रतिवेदन हो । तर तथ्याङ्क हेर्दा विश्वास गरिहाल्न सकिने अवस्था छैन । सन्तुष्ट हुने तथ्याङ्क आएको छैन ।” 

नेपालको कुल परिवार अर्थात् ६६ लाख ६० हजार ८४१ मध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वको घरमा बसोवास गरेको देखिन्छ भने कुल ९०.७ प्रतिशत दलित आफ्नै स्वामित्वको घरमा बसोवास गरेका छन् । पहाडका दलित ८८.४ प्रतिशत र तराईका कुल दलित परिवारमध्ये ९५ प्रतिशत आफ्नै स्वामित्वको घरमा बसोवास गरेका छन् । 

तथ्याङ्क अनुसार दलितको कुल जनसङ्ख्यामध्ये ८७ प्रतिशतले बिजुलीबत्ती प्रयोग गरेका छन् । दलितको कुल जनसङ्ख्याको १० प्रतिशत शौचालयविहीन छन् । साधारण फोन प्रयोग गर्ने दलितको जनसङ्ख्यामध्ये ७३ प्रतिशत मात्र रहेको छ । १५ प्रतिशत दलित महिलाको नाममा सम्पत्तिको स्वामित्व रहेको छ । पहाडका दलित ३२ प्रतिशत र तराईका दलित ४४.५ प्रतिशत अति न्यून वर्गमा परेका छन् ।