काठमाडौँ, असार २ गते । वडा कार्यालयलाई स्थानीय नागरिकको प्रभावकारी सेवाप्रवाह बिन्दु (डेलिभरी प्वाइन्ट) का रूपमा विकास गर्न स्थानीय शासनविज्ञहरूले सुझाव दिएका छन् । स्थानीय तहका वडा कार्यालय अहिले पनि सेवाप्रवाह बिन्दु नै भए पनि प्रभावकारी रूपमा विकास हुन सकेका छैनन् ।
वडा कार्यालयबाट दैनिक रूपमा प्रदान गर्ने सेवालाई छिटो, छरितो, सहज र चुस्त बनाई वडा कार्यालयलाई प्रभावकारी सेवाप्रवाह बिन्दुका रूपमा विकास गर्दा मात्र स्थानीय नागरिकले वडा कार्यालयप्रति अपनत्व महसुस गर्ने तर्क विज्ञहरूको छ । स्थानीय तहको आधारभूत जग भनेकै स्थानीय तहका वडा कार्यालय भएकाले वडा कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनुपर्ने सुझाव विज्ञहरूको छ ।
वडाभित्रको योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन, तथ्याङ्कको अद्यावधिक तथा संरक्षण, विकास कार्य, नियमन कार्य र सिफारिस तथा प्रमाणित गर्ने काम गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरिएको छ तर सबै वडा कार्यालयले उक्त कार्य व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेका छैनन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले वडा कार्यालयलाई सेवाप्रवाह बिन्दुका रूपमा विकास गर्न वडाध्यक्ष र वडा सदस्यको क्षमता विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वडा समितिका सदस्यहरूबिच कार्य विभाजन गरी जिम्मेवारी प्रदान गर्ने, अधिकार प्रत्यायोजनको माध्यमबाट सेवा प्रवाह नियमित बनाउने, वडाबाट असुल भएको राजस्व रकम तथा कार्यपालिकामा पेस गर्नुपर्ने प्रतिवेदनहरू समयमा नै पठाइएको वा नपठाइएको अनुगमन गर्नु पर्छ । साथै सञ्चालनमा रहेका योजना तथा सामाजिक सुरक्षा भत्ता वितरणलगायत कामको नियमित अनुगमन गर्ने, आफ्नो वडामा टोल विकास संस्थाहरू गठन गरी क्रियाशील गराउने, नियमित रूपमा सम्पादन गर्नुपर्ने कार्यको कार्यतालिका तथा दैनिक कार्यसूची बनाई काम गरी वडा कार्यालयलाई थप प्रभावकारी बनाउन उहाँले सुझाव दिनुभयो ।
पौडेलले भन्नुभयो, “अहिलेको स्थानीय तहका वडा कार्यालय परिकल्पना हुँदा नै ती कार्यालयलाई सेवाप्रवाह बिन्दुका रूपमा विकास गर्ने भन्ने थियो । अहिले केही काम त भएका छन् तर पर्याप्त छैन तसर्थ अब स्थानीय तहले वडा कार्यालयलाई यसमा थप प्रभावकारी बनाउनु पर्छ ।” स्थानीय शासनविज्ञ डा. शेषरमण न्यौपाने तराईमा वडा गाभेर वडाको क्षेत्र विस्तार गरी अहिले वडा समितिलाई भएकै अधिकारलाई थप सबलीकरण गर्नुपर्ने आवश्यकता देखाउनुहुन्छ । उहाँले भन्नुभयो, “दुर्गम पहाडी क्षेत्रमा नागरिकलाई सेवा लिनका लागि पुनः पालिका धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै वडा समितिका पदाधिकारी र कर्मचारीको क्षमता विकास गर्नुको विकल्प छैन ।”
नेपाल सरकारका पूर्वसचिव गोपीकृष्ण खनालले वडा समिति जति पारदर्शी, समन्वयकारी भयो, त्यति नै नागरिकले अपनत्व महसुस गर्ने भएकाले वडा कार्यालयले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो । खनाल भन्नुहुन्छ, “जनताको दिनैपिच्छेको काम वडा तहबाटै सम्पन्न गर्नुपर्ने भएकाले स्थानीयले गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखलाई नै चिन्दैनन् तर वडाध्यक्षलाई अधिकांश नागरिकले चिन्छन् । यसबाट पनि प्रस्ट हुन्छ, वडाध्यक्ष जनतासँग जोडिएका हुन्छन् ।” वडालाई जति शक्तिशाली र बलियो बनायो, आमनागरिकले उति नै राहत पाउँछन् । स्थानीय लोकतन्त्रका लागि वडा कार्यालय र वडा तहका जनप्रतिनिधिहरू महìवपूर्ण संस्था भएको उहाँ बताउनुहुन्छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेल वडाको कामलाई प्रभावकारी बनाउन वडा समितिका पदाधिकारी र कर्मचारीको क्षमता विकास गर्नेतर्फ स्थानीय सरकार, सङ्घ र प्रदेश सरकारले चासो नदिएको गुनासो गर्नुहुन्छ । “अहिले वडा कार्यालयले गरेका सबै काम आफ्नै क्षमताले मात्र गरेका छन्, वडा समितिका पदाधिकारी र कर्मचारीलाई पर्याप्त तालिम हुने हो भने अहिलेको भन्दा अझ प्रभावकारी सेवा प्रवाह गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
विज्ञहरूका अनुसार अहिले वडाहरू सक्रिय भएका ठाउँमा नागरिकका ससाना विषयमा गुनासा आउने गरेका छैनन् । त्यसैले वडा कार्यालयलाई अझ सशक्त बनाउँदै जानु पर्छ । कुल ७५३ स्थानीय सरकारमा छ हजार ७४३ वडा छन् । प्रतिवडा कार्यालयमा वडाध्यक्षसहित पाँच जना वडा समितिका पदाधिकारी गरी ३३ हजार ७१५ जना जनप्रतिनिधि क्रियाशील छन् ।