• २४ जेठ २०८२, शनिबार

रङ्गमञ्चमा नाट्य लेखनको कमी

blog

काठमाडौँ, जेठ २४ गते  । पछिल्लो समय नेपाली रङ्गमञ्चको गतिविधि सुस्ताएको जस्तो देखिएको छ । राजधानीमा रहेका प्रायः नाटकघरमा दैनिक रूपमा नाटक मञ्चन भए पनि सटिक स्वादका नाटक खासै हेर्न नपाएको दर्शकको गुनासो छ । कुनै समय लोकप्रियताको ‘ग्राफ’ मा उकालो लागेको नाटक यतिबेला दर्शकको रुचिभन्दा बाहिर गएको देखिन्छ ।  

छोटो समयमै दर्शकलाई नाटकप्रति अरुचि हुनुको कारण कमजोर लेखन रहेको बताउँछन् रङ्गमञ्चका कलाकार । पछिल्लो समयमा नाट्य विधामा कलम चलाइरहेका साहित्यकार औँलामा गन्न पुग्ने जति छन् । त्यसैले नेपाली रङ्गमञ्चमा नेपाली नाटकको अभाव केही मात्रामा खड्किएको देखिन्छ । कुनै समय सरुभक्तको लेखन र अनुप बरालको निर्देशकीय पक्ष निकै जम्थ्यो । सरुभक्तको नाट्य लेखनमा  बराल तत्काल नाटक निर्देशनका लागिपर्नु हुन्थ्यो  तर अहिले त्यसको आकर्षण बिस्तारै सेलाउँदै गएको छ । रङ्गकर्मी बराल थिएटर निर्माणमा व्यस्त हुनुहुन्छ भने सरुभक्त साहित्यिक कार्यक्रममा बढी देखिनुहुन्छ । 

अहिले नाटकको टिकट बिक्रीबाट राम्रो आम्दानी भएको देखिए पनि त्यो आम्दानी नाटक निर्माण, कलाकार र निर्देशकलाई समेत पुग नपुग हुन्छ । त्यसमा पनि लेखिएका सबै नाटक मञ्चन हुने निश्चित हुँदैन । त्यसैले अहिले नाटक लेखनतर्फ साहित्यकारले रुचि देखाएका छैनन् । प्रारम्भिक समयमा पहलमानसिंह स्वाँर, भीमनिधि तिवारी, बालकृष्ण सम, विजय मल्ल, गोविन्द मल्ल ‘गोठाले’ केही त्यस्ता थोरै मात्र नाटककारका रूपमा स्थापित भएका थिए । त्यसपछि मनबहादुर मुखिया, सत्यमोहन जोशी, अभि सुवेदी, अशेष मल्ल, सरुभक्त, खगेन्द्र लामिछाने जस्ता लेखकले नाट्य लेखनमा राम्रो प्रभाव छाड्नुभयो । वरिष्ठ रङ्गकर्मी अशेष मल्ल भन्नुहुन्छ, “विश्व साहित्यमा सबैभन्दा कम लेखिने विधामध्ये नाटक एक हो ।” उहाँको अनुसार शेक्सपियरदेखि एन्टोभ चेकभसम्म जन्मिनका लागि ५० वर्ष कुर्नु पर्‍यो । यो नाटक लेखन विद्या नै त्यस्तो हो । उहाँ थप्नुहुन्छ, “यो कविता कथा जस्तो होइन, रङ्गमञ्चको नाटक लेख्नका लागि कला र रङ्गमञ्च दुवैको ज्ञान हुन जरुरी छ । नाटक लेखनमा धेरै धैर्य चाहिन्छ ।” “लेखक स्वयम् रङ्गमञ्चसँग सम्बन्धित भए नाटक लेखन अझ राम्रो हुन सक्छ । अहिले थियटर धेरै खुलेका छन् । नाटक पनि सोचेका भन्दा राम्रै मञ्चन भइरहेका छन् । यति हुँदाहुँदै पनि नाटकको लेखनीय पक्ष कमजोर नै छ,” उहाँले भन्नुभयो ।  लेखक तथा साहित्यकार सरुभक्तको भनाइ केही भिन्न छ । उहाँका अनुसार साहित्यका विभिन्न विधामध्ये नाट्य लेखन जहिले पनि थोरैले मात्र लेखिनेमा पर्छ । रङ्गमञ्चमा थोरै नाटककारले सफलता प्राप्त गरेका छन् । नाटककारको सङ्ख्या नाटकमा जहिले पनि थोरै देखिने उहाँको भनाइ छ । उहाँले दृश्यमा जानुपर्ने हुने हुनाले यसलाई दृश्यकाव्य भनिन्छ भन्दै थप्नुभयो, “अन्य आख्यान लेख्नका लागि लेखक स्वतन्त्र हुन्छन् भने रङ्गमञ्चीय विधा लेख्नका लागि रङ्गमञ्चीय ज्ञान हुन जरुरी हुन्छ ।” म नाटक लेखनबाट टाढिएको होइन । दर्जन नाटक लेखेर राखेको भए पनि मञ्चनको सुविधा नभएकाले थन्काएर राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार “हामीकहाँ नाटक पढ्ने पाठकको अभाव छ । नाटक पढ्नका लागि पनि रङ्गमञ्चीय दृष्टिको आवश्यक पर्छ । जुन हामीकहाँ एकदमै कम छ ।” 

पछिल्लो समय रङ्गमञ्चमा कलाकारको सङ्ख्या बढे पनि त्यस अनुपातमा नाटक लेखकहरू नगण्य छन् । अहिले धेरै नाटक लेखकको एउटै प्रश्न हुन्छ, नाटक लेखेर के पाउने ? यसले हाम्रो आर्थिक उपार्जनको दैनिकी कसरी चलाउने ?