• २३ जेठ २०८२, शुक्रबार

‘शर्माका चित्रमा इतिहास झल्किन्छ’

blog

काठमाडौँ, जेठ २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रमा इतिहास झल्किएको बताउनुभएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनरत ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको मङ्गलबार अवलोकन गर्दै प्रधानमन्त्री ओलीले शर्माले अत्यन्त मेहनतका साथ चित्र तयार गर्नुभएको बताउँदै त्यसमा इतिहासको अध्ययन झल्किएको उल्लेख गर्नुभयो । उहाँले इतिहासको अध्ययनलाई शर्माले कलामार्फत सजीव रूपमा सिर्जना गर्नुभएको भन्दै प्रशंसा गर्नुभयो । 

“उहाँले सजिलो बाटो खोज्नुभएको छैन, अब्स्ट्र्याक्ट आर्ट सजिलो ढङ्गले गर्नुभएको छैन । भावी पुस्ताले इतिहास बुझ्नु पर्‍यो,” प्रधानमन्त्री ओलीले भन्नुभयो,  “हामी कताबाट, कस्तो इतिहासबाट आयौँ भनेर थाहा पाउनु प¥यो ।” प्रधानमन्त्री ओलीले शर्माले चित्रकलामार्फत नेपाली समाजलाई गुन लाउनुभएको बताउँदै उहाँको चित्रकारिता निरन्तर कायम रहोस् भनी शुभकामना दिनुभयो । प्रधानमन्त्री ओलीले हाम्रो कला संस्कृतिको विकासक्रमलाई शर्माले मिहिन ढङ्गबाट प्रस्तुत गर्नुभएको बताउनुभयो । 

८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो । प्रदर्शनीमा चित्रकार शर्माका ६० वटा चित्र रहेका छन् । चित्रले नेपालको इतिहास, संस्कृति र जनजीवनलाई समेटेको छ । चित्रमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् । उहाँका चित्रहरू यथार्थवादी त लाग्छन् नै, त्यसमा ऐतिहासिकता पनि प्रस्टसँग समेटिएको भेटिन्छ । प्रदर्शनीमा मुख्य गरेर तेल रङका चित्र रहेको शर्माका छोरा प्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, इतिहास र समयक्रमलाई मिलाएर बनाइएका चित्र प्रदर्शनीमा रहेका छन् । साथै ल्यान्डस्केप र जनजीवनका चित्रहरू पनि प्रदर्शनीमा राखिएको छ । उहाँले भन्नुभयो, “उक्त चित्रहरू प्रिन्टका रूपमा नेपालका बैठकमा र विदेशमा बस्ने नेपालीबिच लोकप्रिय छन् ।” हनुमानढोकासँग सम्बन्धित चित्र भएको हुनाले ती चित्रहरू अहिले पनि हनुमानढोकामा समेत प्रदर्शनरत रहेको उहाँले बताउनुभयो । अहिलेसम्म एक हजार पाँच सयले प्रदर्शनीको अवलोकन गरेको उहाँको भनाइ छ । धेरै इतिहासका चित्र भएको हुनाले खासै बिक्रीमा नराखिएको उहाँले बताउनुभयो । चित्रकार शर्माले ७० वर्षअघि आफूले देखेका, भोगेका प्रसङ्ग, दृश्य र घटनालाई कलामा उतारेको बताउनुभयो ।