काठमाडौँ, जेठ २० गते । महानायकको छवि बनाउनुभएका राजेश हमालको ‘क्रेज’ दर्शकबिच अहिले पनि उस्तै छ । हमालको अनुहार हेर्न मात्र पनि दर्शक हलसम्म पुगेका हुन्छन् । चलचित्र ‘नरसिंहा : अवतार’ मार्फत आठ वर्षपछि चलचित्रमा पुनरागमन गर्नुभएका हमालले दर्शकले सोच जस्तो अभिनय गरेको देखिएन । कुनै बेला नायक हमालले ‘हे’ बोल्दा हलमा तरङ्ग उत्पन्न हुन्थ्यो । चलचित्रमा जहाँ अन्याय र अत्याचार हुन्थ्यो, त्यहाँ हमालको ‘हे’ गुन्जन्थ्यो । चलचित्र युगदेखि युगसम्म, देउता, अल्लारे, आफन्त जस्ता चलचित्रमा हमालले बोल्नुभएको ‘हे’ र अहिले चलचित्र नरसिंहा : अवतारको बिचको ‘हे’ मा आकाश पातालको फरक देखिन्छ ।
अपराध दुनियाँका राजा डिजेन्द्रप्रताप (प्रशान्त ताम्राकार) र प्रहरी उपरीक्षक (एसपी) अविनाश विक्रम (राजेश हमाल) बिच देखिएको बदलाको भाव नै चलचित्रको मुख्य कथा हो । जहाँ सुवास (राज कटुवाल) पनि समावेश छन् । डिजेन्द्रले सुवासको परिवारमाथि गरेको अत्याचार र सुवासभित्र देखिएको बदलाको भावसँगै कथा अघि बढ्छ । एसपी अविनाश र सुवास दुवैले कसरी डिजेन्द्रको साम्राज्यलाई सखाप पार्छन् ? राजनीतिको आडमा डिजेन्द्रले सहरमा आतङ्क मच्चाएका छन् । डिजेन्द्रका भाइ बिक्की (राजीवजङ्ग बस्नेत) को सहरमा हालीमुहाली छ । बलात्कार गर्नु उनका लागि साधारण कुरा हुन्छ । डिजेन्द्र राजनीतिक दलको शीर्ष नेता (नीर शाह) को संरक्षणमा गुन्डाराज चलाइरहेका हुन्छन् । एसपी अभिनाशको श्रीमती राधा (नीति शाह) को हत्या पनि डिजेन्द्रबाट भएको हुन्छ । सुवासकी श्रीमती कुसुम (सनिशा भट्टराई) घुम्न निस्किदा पत्रकारलाई हत्या गरेको देख्छिन् र सोही समूहको आक्रमणमा पर्छिन् । आक्रमणबाट कुसुमले २० वर्षअघिको सबै घटना बिर्सन्छिन् । यहीबिचमा नरसिंहाको अवतारले एक एक गरेर डिजेन्द्रको समूहको हत्या गर्न थाल्छ । को हो नरसिंहा अवतार ? यही प्रश्नको जवाफ खोज्न चलचित्र हेर्न हलसम्म पुग्नु पर्छ ।
द्वन्द्वबाहेक सुवास र कुसुमको प्रेमकथाले पनि चलचित्रलाई अघि बढाएको छ । मध्यान्तरअघिसम्म यताउता रुमलिएको चलचित्रले मध्यान्तरपछि केही गति लिएको छ । निर्देशक दिवाकर भट्टराईले हमाललाई चलचित्रमा अभिनय गराउनु नै चलचित्रको बलियो पक्ष हो ।
चलचित्रको अर्को राम्रो पक्ष यसको द्वन्द्व र पुरानो चलचित्र ‘दैव सङ्योग’ को गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ को रिमेक हो । निर्देशकले नरसिंहा को हो ? भन्ने सस्पेन्सलाई अन्तिमसम्म कायम राखेर दर्शकलाई हलमा साढे दुई घण्टा बस्न बाध्य बनाउनुलाई पनि राम्रो मान्नु पर्छ ।
आइटी केटाको भूमिकामा देखिनुभएका रमेशचन्द्र सोडारीको अभिनयले पनि चलचित्रको कथामा अर्थ राख्छ । प्रशान्त ताम्राकारको अभिनयमा खासै नयाँपन छैन । उषा खड्गी र सरोज खनालको अभिनय ठिकठाक छ । निर शाहको बोल्ने संवाद पुरानै शैलीको छ । राज कटुवाल, नीति शाह र सनिशा भट्टराईको अभिनयमा नौलोपन छैन । निर्देशक भट्टराईको कमजोर पक्ष भनेकै पात्र छनोट हो । निर्देशकले अविनाशलाई भन्दा सुवासलाई प्राथमिकतामा राख्नु नै ठुलो कमजोरी हो ।