• ७ वैशाख २०८१, शुक्रबार

मतदाता नामावली सच्याउने प्रतिबद्धता

blog

काठमाडौँ, जेठ ३० गते । स्थानीय तहसँग समन्वय गरी ‘मृतक मतदाता’लगायतका त्रुटि सच्याउन सुझाव निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीमा मृतक मतदाताको सङ्ख्या भयावह रहेको पाइएपछि राजनीतिक दलहरूले त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रमुख राजनीतिक दलहरूले मतदाता नामावली अद्यावधिक गर्न र नामावली सङ्कलनमा हुन सक्ने त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गोरखापत्र दैनिकको आइतबारको अङ्कमा ‘मृतक मतदाता’को तथ्याङ्क भयावह शीर्षकमा समाचार प्रकाशित भएपछि दलका नेताहरूले मतदाता नामावली अद्यावधिक गर्न सहयोग गर्ने बताउनुभएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले स्थानीय तह निर्वाचनमा भएको त्रुटि हटाउन वडा समितिबाटै जुट्ने बताउनुभयो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि प्रयोग गरिएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको खुलेको थियो । त्यसपछि राजनीतिक दलहरूले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा सावधानी अपनाउने भएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आवधिक निर्वाचनको तयारीस्वरूप हरेक वर्ष मतदाता नामावली अद्यावधिक गर्दा स्थानीय तहको वडासम्म समन्वय गर्ने बताउनुभयो । उहाँले प्रणालीमै सुधार नगरेसम्म मतदाता नामावलीमा रहँदै आएको त्रुटि नसच्चिने बताउँदै ७७ वटै जिल्लामा पालिकासँग समन्वय गर्न आयोगले मार्गचित्र बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मतदान स्थलमा बस्ने प्रतिनिधिले राम्रोसँग हेर्नुपर्नेमा त्यो नभएको स्वीकार गर्दै मतदाता नामावली अद्यावधिक किन भएन भन्ने प्रश्नचाहिँ गम्भीर रहेको बताउनुभयो । उहाँले मतदाता नामावली अद्यावधिक गर्ने विषयमा दलहरूले पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो ।

उमेर १८ वर्ष पुगेका र मतदाता नामावलीमा नभएकालाई सूचीमा समावेश गर्ने र मृत्यु भएका वा विदेशमा रहेका, बसाइँसराइ गरेका व्यक्तिको नाम अद्यावधिक गरेमा धाँधली र फर्जी मत खस्ने सम्भावना न्यून हुने उहाँको धारणा छ । नेता लेखकले मृत्यु भइसकेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन निर्वाचन आयोगले संयन्त्रमार्फत काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तह निर्वाचनमा मतदाता नामावली अद्यावधिक नहुँदा प्रशस्तै कमीकमजोरी भएको बताउनुभयो । मतदाता नामावली चुस्त दुरुस्त बनाएमा मात्रै धाँधलीरहित निर्वाचन हुने बताउँदै उहाँले भन्नुभयो, “नामावली अद्यावधिक गर्ने जिम्मेवारी दलहरूको पनि हो ।

निर्वाचन आयोगले दलहरूलाई बोलाएर तल्लो तहबाटै सहयोगका लागि प्रस्ताव गर्नुपर्छ ।” उहाँले पछिल्लो तथ्याङ्कले मतदाता नामावली थप्ने काम मात्रै भएकाले अब हटाउने विषयमा पनि ध्यान पु-याउनुपर्ने बताउनुभयो । 

प्रणालीमै सुधार आवश्यक

पूर्वप्रधानमन्त्री खनालले निर्वाचन प्रणाली र मतदाता नामावली सङ्कलन गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउनुपर्छ । हामीले समाजवादको यात्रामा अघि बढ्ने भनिरहँदा प्रणालीगत सुधार पनि आवश्यक छ । साना–साना विषयमा सुधार भएन भने हाम्रो लक्ष्य हासिल हुँदैन ।”माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याउनुभयो । 

प्रवक्ता महराले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गरेपछि माओवादी केन्द्रका स्थानीय समितिलाई क्रियाशील बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको गहना हो निर्वाचन, त्यसैले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र समयसापेक्ष सुधार गर्नुपर्छ । माओवादी केन्द्रले आयोगलाई आवश्यक सम्पूर्ण सहयोग गर्छ ।” वडा कार्यान्वयनमा जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ताको विवरण हुने भएकाले वडा तहदेखि नै समन्वय गरी नामावली अद्यावधिक गर्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष यादवले निर्वाचन प्रणालीमा सुधार गरी प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “धेरै युवाको नाम मतदाता नामावलीमै छैन, ती युवालाई समावेश गर्नुपर्छ । मृत्यु भइसकेका व्यक्तिको नाम हटाउनुपर्छ । हाम्रो पार्टीका वडा समितिबाटै निर्वाचन आयोगलाई सहयोग हुन्छ ।”