काठमाडौँ, जेठ १८ गते । नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष भए पनि यी दुई देशबिच सदियौँदेखि आपसी सम्बन्ध रहँदै आएको छ । व्यापार, कला, संस्कृतिलगायत विविधि क्षेत्रमा गरिएका आदानप्रदानले दुई देशबिचको मित्रतालाई थप प्रगाढ बनाउँदै आएको छ । यस कुरालाई चीनका चाइना इन्टरकन्टिनेन्टल कम्युनिकेसन सेन्टरका निर्माता र निर्देशक लु यियान स्विकार्दै भन्नुहुन्छ, “नेपाल र चीनबिच धेरै कुरामा सहकार्य हुँदै आएका छन् र कतिपय गरिने चरणमा छन् ।” काठमाडौँमा जारी काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा सहभागिता जनाउन आउनुभएका निर्देशक लुले नेपालको प्राकृतिक सौन्दर्य विश्वमै अनुपम रहेको बताउँदै यहाँ चलचित्र, वृत्तचित्र र काल्पनिक कथा बनाउन सकिने प्रशस्त ठाउँ रहेको बताउनुभयो ।
भौगोलिक विविधतायुक्त नेपाल वृत्तचित्र र चलचित्र निर्माणका लागि सुन्दर गन्तव्य हुन सक्ने उहाँले बताउनुभयो । उहाँले नेपालका वृत्तचित्र र चलचित्रले भूगोल, मानव विशेषता र दक्षिण एसियाका विविध पक्षलाई उजागर गर्ने पनि बताउनुहुन्छ । विभिन्न चलचित्र महोत्सवमा सहभागी भइसक्नुभएका उहाँले किम्फ वास्तवमै उत्कृष्ट रहेको बताउँदै किम्फले सबै प्रकारका चलचित्र निर्माता र निर्देशकलाई समेटेको बताउनुभयो । चिनियाँ वृत्तचित्र महोत्सवको उत्कृष्ट वृत्तचित्र अवार्ड विजेता लुले नेपालबारे धेरै वृत्तचित्र हेरेको बताउँदै थप्नुभयो, “नेपालसँग धेरै स्रोत छन्, नेपाली निर्माता, निर्देशकसँग चलचित्र बनाउने अपेक्षा गरेको छु ।” उहाँले नेपाली चलचित्रकर्मीलाई चीनमा आउन निम्ता दिँदै सांस्कृतिक आदानप्रदानका लागि यो राम्रो माध्यम बन्ने बताउनुभयो ।
चीनको चाइना मिडिया ग्रुपका वृत्तचित्रका निर्माता यान झाङ्लिङले दुई देशबिचको सांस्कृतिक आदानप्रदानमा जोड दिँदै भन्नुभयो, “किम्फ जस्ता महोत्सवले सांस्कृतिक संवादलाई बढावा दिन्छ । यो एक प्रकारको संस्कृति आदानप्रदान गर्ने माध्यम बनेको छ ।” सिसिटिभी–४ का निर्मातासमेत रहनुभएका उहाँको वृत्तचित्र ‘वेर दी माइटी रिभर बिगिन्स’ किम्फमा प्रदर्शन भइसकेको । २० वर्षदेखि वृत्तचित्र निर्माणमा सक्रिय उहाँले भन्नुभयो, “त्यस वृत्तचित्र नेपाली दर्शकका लागि फरक तरिकाले प्रस्तुत गरेको छु र दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ ।” वृत्तचित्रसँगै छलफलमार्फत आफ्ना अनुभव पनि साटासाट गरेको बताउँदै उहाँले वृत्तचित्र र चलचित्र निर्माणमा चीन र नेपालले सहकार्य गर्न सक्ने बताउनुभयो ।