काठमाडौँ, जेठ १५ गते । नेपाली चलचित्र क्षेत्रले सामाजिक एवं राष्ट्रिय दृष्टिले उपयोगी विषयवस्तुलाई प्राथमिकता दिँदै मौलिक र व्यावसायिक चलचित्र निर्माण गर्दै आएको छ । दर्शकलाई मनोरञ्जन दिने क्रममा विश्वस्तरीय प्रविधि प्रयोग गर्दै अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा आफ्नो उपस्थिति पनि बढाउँदै लगेको छ । कतिपय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय अवार्ड जितेर नेपालको मान बढाएका छन् । गणतन्त्रपछिको खुला वातावरणमा निर्धक्क भएर चलचित्र निर्माण गर्ने क्रमले तीव्रता पाएको छ । चलचित्रको नियमन गर्ने निकाय चलचित्र विकास बोर्डले बक्स अफिसको सुरुवात गरेर चलचित्रको सफलता र असफलतालाई मापन गर्ने प्रयास गरेको छ । हालै मात्र बोर्डले पुराना कलाकारलाई परिचयपत्र वितरण गरेर उनीहरूलाई मासिक भत्ता दिने निर्णय गरेको छ ।
निर्माता तथा निर्देशक केपी पाठक भन्नुहुन्छ, “गणतन्त्रपछि नेपाली चलचित्रको रङ्गरूपमा धेरै परिवर्तन भइसकेको छ । नेपाली चलचित्रको मुहार नै परिवर्तन भएको छ ।” डेढ दशकअघि भन्दा अहिले चलचित्रको अवस्थामा केही परिवर्तन भएको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले पात्रमार्फत कथा भन्ने आमचलचित्रकर्मीको हुटहुटी बढेको छ । “मेकरको हिसाबले गणतन्त्रको भरपूर प्रयोग गरेको देखिन्छ,” उहाँ भन्नुहुन्छ, “साढे एक दशकयता बनेका चलचित्रले हाम्रा पहिचान, संस्कृति, मौलिकता र आत्मकथालाई समेटेको छ; जुन गणतन्त्रपछिको उपलब्धि हो ।”
कलाकार दीपकराज गिरीका अनुसार २०४६ सालसम्म व्यावसायिक रूपमा चलचित्र निर्माणको सङ्ख्या सुस्त थियो । “२०४६ सालपछि नेपाली चलचित्र भारतीय चलचित्रसँग मिल्ने खालका बन्न थाले,” उहाँ भन्नुहुन्छ, “सङ्ख्यात्मक रूपमा चलचित्र निर्माणमा वृद्धि भयो । प्रजातन्त्र स्थापनापछि निजी क्षेत्रलाई मौका दिइयो र लगानी गर्ने पनि आउन थाले । हलहरूको सङ्ख्या पनि थपिए ।” उहाँले सेन्सरसिप केही खुकुलो भएसँगै चलचित्र निर्माणमा पनि वृद्धि हुँदै गएको बताउनुभयो । उहाँले माओवादी कालखण्डमा हल बन्द हुने, रात्रि सो नहुने र सर्वसाधारणमा त्रास धेरै भएकाले चलचित्र बन्ने क्रम घटेको बताउँदै समग्र चलचित्र क्षेत्र प्रभावित बनेको बताउनुभयो । उहाँले गणतन्त्र आएपछि चलचित्रमा हाम्रा कथाहरू भनिन थालेको भन्दै थप्नुभयो, “गाउँघर, हाम्रा माटाका कथाहरू चलचित्रमा आउन थाले । ‘छक्कापन्जा’, ‘लुट’ जस्ता चलचित्रका सिरिज स्थापित भए ।” अहिले ‘ऊनको स्वेटर’ सम्म आइपुग्दा गाउँघरका अर्गानिक कथा भनिन थालेका छन् । ‘पशुपतिप्रसाद’, ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता चलचित्र यही कालखण्डमा बने । सङ्ख्यात्मक रूपमा चलचित्र निर्माणमा पनि धेरै वृद्धि भइरहेको उहाँको भनाइ छ । गणतन्त्रसम्म आउँदा चलचित्रमा मनग्गे विकास भएको उहाँले बताउनुभयो । देशप्रेम जस्ता विषयमा आधारित चलचित्र बनाउनु सकारात्मक हो तर त्यसको कथा आफ्नै माटोको हुनु जरुरी रहेकोमा कुनै दुईमत छैन । राष्ट्रियता जगाउने खालका चलचित्र बनाउने हो भने यस्ता चलचित्रले गणतन्त्र र राष्ट्रियताको विषयलाई जनतामा अझ बलियो गरी स्थापित गर्छ ।
नेपाली निर्माता भारतीय चलचित्रको प्रभाव कम गर्ने प्रयासमा केही हदसम्म लागे पनि राष्ट्रियता र गणतन्त्रको पक्षमा चलचित्र जुन रूपमा बन्नुपर्ने थियो, त्यस्तो अझैँसम्म बन्न सकेको छैन । नायिका ऋचा शर्माको भनाइ भने केही भिन्न छ । उहाँ भन्नुहुन्छ, “गणतन्त्रसम्म आइपुग्दा चलचित्र क्षेत्रमा सामान्य उपलब्धि भएका छन् । यद्यपि गर्नुपर्ने कुरा अझै छन् । गणतन्त्र आएपछि सेन्सरसिप अलि बढी कडा भएको भान भएको छ । यो कुरा मेरै चलचित्रको ‘राजागन्ज’ को सेन्सरसिपमा खट्कियो ।” उहाँ चलचित्र विकास बोर्डलाई स्वायत्त रूपमा काम गर्न दिनुपर्ने सुझाव दिनुहुन्छ ।