काठमाडौँ, जेठ १४ गते । गणतन्त्र आएपछि नागरिकले विकास निर्माणमा सहजता, सेवामा पहुँच, समावेशी स्थानीय सरकार र गाउँघरमै न्यायिक अधिकार प्राप्त गरेका छन् । गणतन्त्रको घोषणापछि स्थानीय तहका नागरिकले घरदैलोमै सरकार भएको महसुस गर्नुका साथै नीति निर्माण, राज्यको स्रोत र साधनको प्रत्यक्ष रूपमा अनुभूति गरिरहेका छन् ।
२०६४ सालमा संविधान सभा निर्वाचनबाट बनेको संविधान सभाले २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गरी संविधान जारी गरेको थियो । २०७४ र २०७९ मा दुई पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएसँगै स्थानीय नागरिकले राज्यको सेवामा प्रत्यक्ष पहुँचको अनुभूति गरेका हुन् ।
गणतन्त्र अगाडि गाउँघरका गोरेटो बाटो अहिले मोटर गुड्ने ग्राभेल र पक्की बन्दै गएका छन् । प्रत्येक टोल र घर घरमा खानेपानी पुगेको छ । स्थानीयस्तरमा नै पाँचदेखि १५ बेडको अस्पताल निर्माण भइरहेका छन् भने स्थानीय जनप्रतिनिधिको सहजीकरणमा घर घरमा पुगेर स्वास्थ्य बिमा कार्यक्रम अभियानका रूपमा सञ्चालन भएको छ । यसै गरी स्थानीय तहमा उत्पादित वस्तुलाई स्थानीय तहमा नै साना उद्योग स्थापना गरी पालिकाको उत्पादन पालिकामा नै खपत गराई रोजगारी सिर्जना भएका छन् ।
अपेक्षाकृत उपलब्धि
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित चिरीबाबु महर्जनले गणतन्त्रले स्थानीय नागरिकलाई दिलाएको उपलब्धि अपेक्षा गरिएभन्दा धेरै भएको बताउनुभयो । गणतन्त्रको उपहार संविधान र संविधान अन्तर्गत तिनै तहमा सरकार आएपछि अहिले गाउँ क्रमिक रूपमा सहर बन्दै गएको र सहरमा व्यवस्थित सहरीकरण हुने क्रम तीव्र भएको बताउनुभयो ।
उहाँका अनुसार ललितपुर महानगरपालिकामा अहिले सहरी सौन्दर्य, मूर्त र अमूर्त सम्पदाको सौन्दर्यीकरण गरी पुरातात्त्विक सम्पदाको पुरातात्त्विक शैलीमा नै जीर्णोद्वार भएका छन् । सूचना र प्रविधिमैत्री सेवाले कतिपय कामका लागि सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुँदै गएको छ । अहिले भएका विकास र प्रविधिमैत्री सेवालगायतका सबै काम गणतन्त्रकै उपहार हुन्, स्थानीय सरकारले हासिल गरेका उपलब्धिको सूची गणतन्त्रकै सौन्दर्य हुन् ।
नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशस्थित खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुनादेवी राईले गणतन्त्रपछि भएका दुई वटा स्थानीय तहको निर्वाचनले पछाडि परेका वर्ग र समुदायका नागरिक नीति निर्माण तहमा पुगेको बताउनुभयो । “गणतन्त्र नआएको भए अहिले स्थानीय तहमा भौतिक पूर्वाधार, स्थानीय तहमा नै शासकीय अभ्यास र गाउँका नागरिकको सेवामा पहुँच हुँदैन थियो,” उहाँले भन्नुभयो, “यो सबै गणतन्त्रकै उपलब्धि हो ।”
नेकपा (एमाले) बाट निर्वाचित गण्डकी प्रदेशको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गणतन्त्रले स्थानीय नागरिकलाई अधिकार प्रदान गरेको र स्थानीय तहले गणतन्त्र सुदृढ व्यवस्थित र स्थायित्वका लागि मलजल गर्ने काम गरेको बताउनुभयो ।
कर्णाली प्रदेश कालीकोटस्थित नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रासकोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले गणतन्त्रले गाउँघरमा स्थानीय नागरिकले देखिने र भेटिने गरी सरकार पु¥याएकाले स्थानीय तहका नागरिकको आर्थिक र सामाजिक स्तरमा उन्नति भएको बताउनुभयो ।
गणतन्त्र अघि विकास निर्माणका लागि एक लाख रुपियाँ माग्न पनि सिंहदबार धाउनुपर्ने बाध्यताको अन्त्य भई अहिले स्थानीय सरकारले नै पाँचदेखि १० लाख रुपियाँसम्म वडा वडामा विकासका लागि बजेट दिएका छन्, यसको श्रेय गणतन्त्रलाई नै जाने उहाँले स्पष्ट पार्नुभयो । लुम्बिनी प्रदेशको नवलपरासी बर्दघाट सुस्तापश्चिमको सुनवल नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित अध्यक्ष विमला अर्यालले गणतन्त्र आएपछि अहिले स्थानीय तहका नागरिकले सरकार भएको महसुस गरेको बताउनुभयो ।
अहिले गाउँपालिकामा खानेपानीको धारा जडान भएका छन्, घरको छाना नभएका समुदायमा टिनको छाना अभियान सञ्चालन भएका छन्, मोतियाविन्दु भएका ज्येष्ठ नागरिकको निःशुल्क रूपमा शल्यक्रिया गरी नयाँ जीवन दिलाउने काम भएको, महिला विद्यालय स्थापना गरी महिलालाई शिक्षामा पहुँच अभिवृद्धि भएको यो सबै गणतन्त्रकै उपलब्धि भएको उहाँले स्पष्ट पार्नुभयो । सुदूरपश्चिम प्रदेशको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गणतन्त्र र सङ्घीय शासन व्यवस्थाले नै स्थानीय सरकार बनाएकाले स्थानीय सरकारले पनि गणतन्त्र र सङ्घीयतालाई सबलीकरण गर्ने काम गरिरहेको बताउनुभयो ।
नागरिकलाई सरकार भएको विश्वास
गणतन्त्र र सङ्घीयताको आधारशिला भनेकै स्थानीय सरकार भएकाले जनप्रतिनिधिले राम्रो काम गर्दा मात्र गणतन्त्र थप बलियो हुने उहाँले जिकिर गर्नुभयो । मधेश प्रदेशको गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल तर्फबाट नगरप्रमुखमा निर्वाचित सन्तलालप्रसाद चौधरीले गणतन्त्रको जगमा स्थानीय सरकार निर्माण भएकाले स्थानीय सरकारले अहिले नागरिकलाई सरकार भएको विश्वास दिलाएको बताउनुभयो । २०६५ सालमा आएको गणतन्त्रले स्थानीय नागरिक जति सन्तुष्ट हुनुपर्ने हो त्यति सन्तुष्ट भने हुन नसकेको भन्दै उहाँले स्थानीय सरकारले प्रदेश र सङ्घीय सरकारभन्दा अब्बल काम गरेर नागरिकलाई सरकारको अनुभूति दिलाएको बताउनुभयो । ७५३ स्थानीय तहमा अहिले ३१ हजार ४१६ जना जनप्रतिनिधि नागरिकको सेवा र विकास निर्माणमा प्रत्यक्ष क्रियाशील छन् ।