• १६ चैत २०८०, शुक्रबार

बीउ उत्पादन गर्न रोपिएको आलुको गोडमेल सुरु

blog

म्याग्दी, जेठ, २९ गते । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङको मार्फामा रहेको बीउ उत्पादन गर्न लगाइएको आलुको गोडमेल  सुरु भएको छ । शीतोष्ण बागवानी विकास केन्द्रले बीउ उत्पादनको लागि लगाएको आलु खेतीमा गोडमेल  सुरु गरेको छ ।

बाहिरी जिल्लामा उच्च माग हुने मुस्ताङको आलु निकै स्वादिलो मान्ने गरिन्छ । मुस्ताङ जिल्लाभित्र उत्पादन हुने आलुको माग उच्च हुने भएकोले पनि आलुको बीउको माग बढी हुने हुनाले शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले टिस्यु कल्चर बिधिबाट उत्पादीत पि.बी.एस. बीउ लगाएर उत्पादन भएको बीउ कृषकहरुलाई विक्री गर्ने गर्दछ ।

शीतोष्ण हावापानीमा उत्पादित बीउले उत्पादन राम्रो दिनुका साथै खानका लागि पनि स्वादिलो हुने भएकाले माग उच्च रहने गर्दछ । बीउ हालसम्म मुस्ताङ जिल्लाभित्र बढी मात्रामा विक्री भएको बागवानी विकास केन्द्रका निमित्त प्रमुख भीमसेन भण्डारीले बताउनुभयो । यस वर्ष बागवानी विकास केन्द्रले ७ रोपनी क्षेत्रफलमा टिस्यु कल्चर बिधिबाट उत्पादीत पि.बी.एस. बीउका दुई हजार दाना लगाइएको छ । पि.बी.एस. बीउ लगाएर उत्पादन भएको आलु बल्ल कृषकहरुलाई आलुखेतीका लागि बिक्री गर्ने गरिन्छ ।

मुस्ताङको मार्फा स्याउ उत्पादनका लागि महत्वपूर्ण क्षेत्र हो । स्याउसँगै अन्य तरकारी एवम् बिउ उत्पादन पनि त्यस क्षेत्रमा राम्रो हुने गर्दछ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख भण्डारी भन्नुहुन्छ ‘मार्फामा उत्पादीत आलु तरकारीका लागि नभै बीउका लागि हो ।’ भण्डारीका अनुसार गतवर्ष उत्पादित आलुमध्ये चार हजार २४२ किलोग्राम आलु बिक्री भएको थियो । मार्फा बागवानी फर्ममा उत्पादित बीउ अन्यत्र लगाउदा उत्पादन राम्रो दिने भएकाले पनि बीउको माग उच्च हुन्छ । 

स्याउखेती भएको स्थानमा पनि आलु लगाउन मिल्ने हुँदा स्याउसँगै आलुको समेत उत्पादनलाई ध्यानमा राख्दै कृषकहरुले स्याउका बोट मुनी आलु लगाउने मार्फाका अगुवा कृषक दीपक लालचनको भनाइ छ । स्याउ बगानभित्रै आलु लगाउँदा पनि स्याउलाई पनि थप पानी र मल मिल्ने हुँदा उत्पादनमा दोहोरो वृद्धि हुने लालचनले भन्नुभयो । 

शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङले अहिले मुस्ताङमा कार्डिनल र स्थानीय जातको आलुको बीउ उत्पादन गर्ने गरेको भण्डारीले बताउनुभयो । मुस्ताङमा करिब ३०६ हेक्टर क्षेत्रफलमा आलुखेती हुने कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । मुस्ताङ जिल्लामा नौ हजार १३८ मेट्रीकटन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । मुस्ताङमा प्रति हेक्टर झण्डै ३० मेट्रिकटन आलु उत्पादन हुन्छ ।

Author

अमृतप्रसाद पौडेल