• १२ जेठ २०८२, सोमबार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, नब्बे प्रतिशत काम सकियो

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १२ गते । निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी सुरु गरिएको छ । नेपालका लागि सुरुङमार्ग सञ्चालन विषय नयाँ भएकाले सञ्चालक कम्पनी छनोट गर्न आवश्यक कागजपत्र तयारी गर्नुपर्ने आयोजनाको भनाइ छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायक संस्था छनोट प्रक्रिया सुरु गर्न आवश्यक कागजपत्र तयारी गरी रायसुझाव तथा स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आधुनिक सुरुङमार्ग सञ्चालन गर्न सेवाप्रदायक संस्था छनोटका लागि बोलपत्र आह्वान गरिने अहिलेसम्म त्यस्तो ‘बिड डकुमेन्ट्स’ नै तयार भएको छैन । त्यही भएर पूर्ण रूपमा नयाँ ‘बिड डकुमेन्ट्स’ तयार गर्नु परेको हो ।” आधुनिक सुरुङमार्ग सञ्चालनको कम्तीमा १० वर्षभन्दा बढी अनुभव भएका कम्पनीलाई छनोट गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । 

पुसदेखि सञ्चालन गर्ने तयारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका परामर्शदाता कम्पनी निप्पन कोइका इन्जिनियर रमेश कोइरालाले यस वर्षको दसैँसम्म आयोजनाको निर्माण सम्पन्न गर्ने र काम सम्पन्न भएको केही महिना आवश्यक तयारी गरी पुसदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कात्तिकको पहिलो साता निर्माण कम्पनीले काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।” आयोजनाको मुख्य संरचना (सुपर स्ट्रक्चर) को काम सम्पन्न भएको भन्दै उहाँले हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । 

यसैबिच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार सुरुङमार्गको स्थलगत अवलोकनका क्रममा सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्र आधुनिक युगमा प्रवेश गर्ने बताउनुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्माले यो सुरुङमार्ग सञ्चालनको ढाँचा तयार भइरहेको जानकारी दिनुभयो । 

सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१८ मा तयार पारिएको हो । यसै गरी सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो । विसं. २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यस आयोजनाको शिलान्यास गर्नुभएको थियो ।