काठमाडौँ, जेठ ६ गते । गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताउनुभएको छ ।मङ्गलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
उहाँले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्ध लगायतका सूचनाहरू दिन जरुरी नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गर्नुभयो । उहाँले यसले मुलुकलाई अराजकतामा लैजाने बताउनु भयो । संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
‘‘सूचनाको हक दिने हाम्रो कर्तव्य हो । सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन । कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन् । ति सूचना दिन जरुरी छैन । मुलुकको शान्ति सुरक्षासँग जोडिएका हुन्छन् । मुलुकको प्रतिरक्षासँग जोडिएका हुन्छन् ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘वैदेशिक सम्बन्धसँग जोडिएका हुन्छन् । कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् । अब ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिइ छोड्ने हो भने पनि मुलुकलाई थितिमा बसाउँदैन, अराजकतामा लैजान्छ । संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ । सूचनाको हकको रेफ्री सूचना आयोग नै हो ।’’
गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिन पनि आग्रह गर्नुभयो । सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्नेकुरा लेखेर दिन आग्रह गर्नुभयो ।